प्रतिनिधिसभाको उपसभामुखमा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा ९७ मत खसेको थियो । मतदानमा २६४ जनाले भाग लिनुभएको थियो । मत दिन्न भन्नेमा एक जना रहनुभयो ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मत विभाजनको नतिजाबारे जानकारी दिनुहुँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले रानामगर उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्थ्यो ।

रास्वपाका रानामगरलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दलका सांसदको समर्थन रहेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते मङ्गलवार दिउँसो १ः०० बजे बस्नेछ ।


ताजा खबर