अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको छ।
यद्यपि कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे सेनाले केही बताएको छैन।
शनिवार उत्तरी सिरियामा अमेरिकी विशेष फौजको कारबाहीका क्रममा अल-बग्दादीले सुसाइड भेस्ट विस्फोट गराई आफ्नो ज्यान लिएका लिए।
पेन्टागनमा आयोजित एउटा पत्रकार सम्मेलनमा रक्षामन्त्री मार्क एस्परले हाम्रो समयको सबैभन्दा जघन्यमध्येका अपराधका लागि अल-बग्दादी जिम्मेवार रहेको बताए।
यसअघि अल-कायदाका प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा गाडिएको थियो।
शनिवार ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भागेर एउटा सुरुङभित्र अल-बग्दादीले आफूले लगाएको एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएको बताएका थिए।
ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अल-बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको बताए।
मारिनेहरूमा उनका दुई श्रीमती पनि थिए।
उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन्।
इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बगदादी सन् २०१४ मा चर्चामा आएका थिए।
इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।
विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ।
इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।
बीबीसी






















