पूर्वरानी कोमल शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि ‘हाई फ्लो अक्सिजन’ दिइएको छ।
नोबेल कोरोनाभाइरस (कोभिड-१९) देखिएपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत उनलाई बुधबारदेखि आईसीयूमा राखेर ‘हाई फ्लो अक्सिजन’ दिइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। “उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो, बाँकी स्वास्थ्य समस्या देखिएको छैन,” बाँस्तोलाले हिमालखबरसँग भने।
नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको अस्पतालले जनाएको छ। उनको अवस्था भने सामान्य र स्थिर रहेको बाँस्तोलाले बताए।
अस्पतालका अनुसार कोभिड-१९ संक्रमण देखिए पनि पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको छ।
६ वैशाखमा स्वाब दिएका उनीहरू रिर्पोट पोजेटिभ आएपछि ७ वैशाखमा अस्पताल भर्ना भएका थिए। भारतको हरिद्वारमा कुम्भमेला भरेर फर्केका उनीहरूको ४ वैशाखमा दिल्लीमा परीक्षण गर्दा भने कोरोना देखिएको थिएन।



















