सर्लाहीमा दिनहुँजसो आगलागीका घटना हुन थालेका छन् । सुक्खा र हावाहुरीको मौसम सुरु भएसँगै आगलागीका घटना बढेको हो । जिल्लाको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१५, बाहुनडाँडामा शनिवार अपरान्ह वनमा लागेको डढेलो सल्किँदा स्थानीय सोमासी मोक्तानको घर जलेर नष्ट भएको छ ।
घर नजिकैको ब्रह्मथान सामुदायिक वनमा लागेको डढेलो सल्किएर मोक्तानको टिनले छाएको दुई तल्ले काठको घर जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट, परवानीपुरले जनाएको छ । आगोले घर, घरभित्रका सरसामग्री, नगद र कागजात जल्दा नौ लाख ९५ हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।
यस्तै, जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको बलरा नगरपालिका वडा नं. २ मा शनिवार दिउँसो स्थानीय महेश सहनीको घर आगलागीमा परेर ध्वस्त भएको छ ।
आफ्नै घरको चुल्होबाट सल्किएको आगोले सहनी परिवारको बाँसको टाटी भएको फुसको एक तले कच्ची घर पूर्णरुपमा जलेको प्रहरी चौकी छन्कीटोला, बलराले जनाएको छ । आगलागीबाट सहनी परिवारको छ लाख ६१ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
यसैगरी, बागमती नगरपालिका–११, पशुपतिनगरमा गाउँतर्फ आइरहेको डढेलो गाउँलेहरु मिलेर निभाएका छन् । आफूहरु आइतवार विहान ४ बजेदेखि खटिएर गाउँतर्फ आएको डढेलो निभाएको तर जङ्गलतर्फ भने निरन्तर आगो सल्किरहेको स्थानीय जीवन आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा अहिले विभिन्न वनहरुमा डढेलो लागिरहेको छ । यो समयमा जङ्गल छेउमा बसोवास गर्नेहरुलाई उच्च सावधानी अपनाउन, खाजा खाना पकाए पश्चात चुल्होको आगो राम्रोसँग निभाउन र आगोजन्य वस्तुको प्रयोगमा सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले आग्रह गरेको छ ।



















