कोरोना महामारीको अवस्था दिनानुदिन बढ्दै गएको भन्दै सरकारले यो संकटपूर्ण अवस्थामा कोभिड विरुद्धको लडाईमा सबैको साथका लागि लगि आग्रह गरेको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डा गोविन्द केसीका अधिकांश माग परा भएको बताउँदै असामान्य सत्याग्रहमा बस्नुभन्दा कोरोनाबाट जनताको ज्यान बचाउनतर्फ लाग्न डाक्टर केसीलाई आग्रह गर्नुभएको छ ।
डा. केसी अहिले शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ । उहाँले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनशन र हड्तालको कुनै आवश्यकता नभएको बताउनुहुँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनशन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।”
डा. केसीले उठाएको मागअनुसार सातवटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको उहाँले बताउनुभयो । ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गैसकेको उहाँले जानकारी दिनुभयो ।
सोहीअनसार कोरोना विरुद्धको लडाईं जारी रहेकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले आग्रह गर्नुभयो । कार्यथलोमा काम गर्दा सुरक्षाका आवश्यक प्रबन्ध कडाईका साथ पालना गर्न उहाँले सबैमा आग्रह पनि गर्नुभयो । कोरोनाबाट मृत्यु भएको संख्या पाँचसय नाघेको अवस्थामा सबैजना सचेत हुनुपर्ने उहाँले जाेड दिनुभयो ।
प्रवक्ता ज्ञवालीकाअनुसार मदन भण्डारी औद्योगिक विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति शिक्षा मन्त्रालयलाई दिइएको छ । त्यस्तै, संघीय तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार यसअघि विज्ञापन भइसकेको तर परीक्षा हुन नसकेका लोकसेवा आयोगका परीक्षा सञ्चालन गर्ने स्वीकृति लोकसेवा आयोगलाई दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण गत वैशाखमा परीक्षा स्थगन गरिएको थियो ।
यसैबीच सरकारले लोकसेवा आयोगबाट विज्ञापन भइसकेका पदहरुको स्थगित परीक्षा संचालन गर्ने निर्णय पनि गरेको छ ।-रासस

















