ऐश्वर्या राय र छोरी आरध्यालाई पनि कोरोना देखियो

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो।  अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको तोपेले जानकारी दिएका छन्।

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,’ हिन्दुस्तान टाइम्सले लेखेको छ।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।

आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।

समाचारमा भनिएको छ- ‘महाराष्ट्र सरकार र अस्पतालले अमिताभ र अभिषेक दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका छन्। तर ७७ वर्षीय अमिताभको उमेर र पहिलेका स्वास्थ्य समस्याका कारण उनलाई गाह्रो हुने सम्भावना रहेको अस्पतालले जनाएको छ।’

हिन्दुस्तान टाइम्सका अनुसार अमिताभलाई पहिले क्षयरोग भएको थियो। उनले शनिबार राति ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका हुन्। केही समयपछि अभिषेकले ट्वीटमार्फत् नै आफू र बुवा अमिताभलाई कोरोना भएको बताएका थिए। अमिताभ र अभिषेकलाई कोरोना भएसँगै परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको छ।

अभिनेत्री जयाको नतिजा भने नेगेटिभ आएको बताइएको छ। योसँगै बच्चन परिवारको ‘जल्सा’ भनिने घर सिल गरिएको र आसपास स्यानिटाइज गरिएको छ।


ताजा खबर