रथी रावल र महासेनानी खड्का सेवाबाट बर्खास्त

अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई नेपाली सेनाले पदबाट बर्खास्त गरेको छ ।

आज बसेको समरी जनरल सैनिक अदालतले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको थियो । सोही फैसला अनुसार रथी रावल तथा महासेनानी खड्कालाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाले जनाएको छ । दुवैलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको बताइएको छ ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने अवधारणामा प्रष्ट रहेको आज विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । साथै दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेको छ ।


ताजा खबर