नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजको बैठकमा पूर्व निर्धारित कार्यसूची भन्दा फरक विषयमाथि छलफल भएको छ ।
आजको बैठकमा मदन भण्डारीको जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री के पि शर्मा ओलीले गर्नुभएको सम्बोधन र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आवेदन दर्ता भएको विषयमा छलफल भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकको सुरूमा पूर्व निर्धारित कार्यसूची अनुसार नेपाल–भारत बीचको सीमा समस्याका बारेमा बोल्न बाँकी सदस्यहरूले आफ्ना भनाई राखेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि नयाँ विषय प्रस्तुत गर्नुभएको सोही विषयमा छलपल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, माधवकुमार नेपाल, बेदुराम भुषाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरन्द्र पान्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्यले आफ्ना भनाईहरू राख्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीले यस अगाडि नै छलफलका लागि नेपाल भारत बीचको सीमा समस्याका बारेमा नेताहरूले बोल्ने क्रम सकिएपछि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण, पार्टी र सरकारको समिक्षा, एमसिसी लगायतका विषयहरूमाथि छलफल हुनेगरी बैठकको एजेन्डा निर्धारण गरेको थियो ।
स्थायी कमिटीको आर्को बैठक भोली बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।


















