त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भएका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । vत्रिभुवन विश्वविद्यालयको कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

“देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।”

कुलपति कार्कीले विश्वविद्यालय जीवनको एक अत्यन्त महत्वपूर्ण मोडमा उभिएको र एउटा शैक्षिक यात्रालाई औपचारिक पूर्णता प्रदान गरेको बताउँदै उहाँले दीक्षान्त आफैमा गन्तव्य होइन, यो त कक्षा कोठा वा अनुसन्धानमा प्राप्त ज्ञानलाई मानव विकासका लागि उपयोग गर्ने नयाँ यात्राको आरम्भ हो भन्नुभयो ।

“प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता, नैतिक द्विविधा तथा विश्वव्यापी अनिश्चितताजस्ता विषयसँग सम्बन्धित चुनौतीको सामना गर्नुपर्ने छ । त्रिभुवन विश्वविद्यालयबाट दीक्षित तपाईँहरू यस्ता चुनौती सामना गर्दै मानव विकास र विश्व बन्धुत्वका लागि अर्थपूर्ण योगदान गर्न समर्थ हुनुहुनेछ भन्नेमा म विश्वस्त छु ।”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तर ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सुनिश्चित गर्दैन । प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन जरुरी भएको देख्दछु ।”

नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उहाँको आग्रह थियो ।
त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य रहेकामा विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।
शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य ९एमफिल० का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथिका रूपमा रहनु भएका भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कर प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताउनु भयो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नु हुन्छ ?’ भनेर सोध्ने भएकाले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेमा लगाउनु पर्नेमा जोड दिनु भयो ।
विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थीको उज्वल भविष्यको सुरुवात दीक्षान्तबाट हुने बताउँदै आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नु भयो।

समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् । त्रिविले गत वर्ष आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा पनि ७४ हजार १४९ जना परीक्षार्थी योग्य भएकोमा १४ हजार ३०८ जनाले मात्रै समारोहमा सहभागी हुनका लागि फाराम भरेका थिए । रासस





















