निर्वाचित केन्द्रीय कमिटी एकढिक्का भई अगाडि बढ्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नव निर्वाचित केन्द्रीय कमिटी एकढिक्का भई अगाडि बढ्ने बताउनुभएको छ ।

नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले महाधिवेशनका क्रममा बनेका गुट र प्रतिस्पर्धालाई बिर्सिएर एकताबद्ध भई पार्टीको काममा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले महाधिवेशनमा चुनाव लड्दा बनेका गुट र प्यानलहरू महाधिवेशनको नतिजा आएसँगै सकिएको बताउनुभयो ।अध्यक्ष ओलीले पार्टी भित्र तानाशाही र अधिनायकवाद छ भनेर गरिएको प्रचारबाट प्रभावित नहुन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेसँग देशलाई निकास दिने र सही गन्तव्यमा पुर्‍याउने अभिभारा रहेको उल्लेख गर्नुहुँदै त्यसलाई पुरा गर्न एकिकृत र अनुशासित पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो ।

यसैबीच नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू एक हप्ता भित्र प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकले विधान प्रकाशन गर्ने तथा पार्टी पदाधिकारी र सदस्यहरूको कार्य विभाजन गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ ।

एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

यस्तै बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक यही पुस २६, २७ र २८ गते काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट बिदा भएका नेताहरू समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गर्ने पनि निर्णय गरेको एमालेले जनाएको छ । रासस


ताजा खबर