ॐ हस्पिटलमा आयन डोनाल्ड मिनी सिएमई सम्पन्न

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा  “म्याग्नेसियम सल्फेटद्वारा भ्रूण स्नायु-सुरक्षा कार्यान्वयनको विश्वव्यापी सर्वेक्षण” (Worldwide Survey of Magnesium Sulphate Fetal Neuroprotection Implementation) विषयक आयन डोनाल्ड मिनि निरन्तर चिकित्सा शिक्षा (Ian Donald Mini Continuing Medical Education) (CME) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

गर्भावस्थामा म्याग्नेसियम सल्फेटको उपयोगमार्फत भ्रूणको स्नायु-सुरक्षाबारे विश्वव्यापी अध्ययन तथा व्यवहारिक प्रयोगसम्बन्धी नयाँ अनुसन्धान र अनुभव यस सत्रको मुख्य केन्द्रबिन्दु रह्यो।

ॐ हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक समेत रहनुभएका बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. भोला रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा फिनल्यान्डको हेलसिन्की विश्वविद्यालय केन्द्रीय अस्पतालका बरिष्ठ  प्रसूति, स्त्रीरोग तथा पेरिनेटल मेडिसिन विशेषज्ञ प्रा. डा. भेद्रान स्टेफानोभिकले बिशेष प्रस्तुति दिनुभयो ।

उहाँले भ्रूण स्वास्थ्य सुरक्षाका लागि म्याग्नेसियम सल्फेट प्रयोग गर्दा विश्वभर देखिएका प्रभाव, चुनौती तथा भविष्यका सम्भावनाहरूलाई विस्तृत रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले प्रा. डा. स्टेफानोभिकलाई हार्दिक स्वागत गर्नुभयो। संस्थापक अध्यक्ष तथा संरक्षक डा. भोला रिजालले धन्यवाद तथा आभार व्यक्त गर्दै सम्मानस्वरूप मायाको चीनो प्रदान गर्नुभयो।

कार्यक्रममा धन्यवाद मन्तव्य दिनुहँदै डा. रिजालले ॐ  हस्पिटलले समय समयमा आयोजना गर्ने  यस्ता ज्ञानवर्धक नियमित मेडिकल शिक्षा कार्यक्रमहरूले चिकित्सम समुदायलाई अद्यावधिक उपचार पद्धतिहरूमा सुदृढ बनाउने तथा मातृ–शिशु स्वास्थ्य सेवामा अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. हरि किशोर श्रेष्ठले संयोजन तथा सञ्चालन गर्नुभएको सिएमईमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशीका साथमा वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरू, बालरोग विशेषज्ञ, रेडियोलोजिस्टहरू तथा अस्पतालका सिनियर म्यानेजमेन्ट टीमका सदस्यहरूको सहभागिता रहेको थियो।


ताजा खबर