एनपिएल : सुदूरपश्चिमले पोखरालई १८ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो ।

जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७५ रन बनायो ।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे ।

यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे ।

पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेलमा पराजित भएको हो।पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो।एनपिएलमा शनिबार दुई खेल हुँदैछन्।  रासस


ताजा खबर