राष्ट्रपतिद्वारा सामाजिक विकास सम्मेलनलाई सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको बताउनुभएको छ ।

कतारको दोहामा शुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उहाँले त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु आफूहरुको प्राथमिकता भएको उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलले समावेशिता, न्याय र सामाजिक सुरक्षालाई नेपालले सामाजिक विकासका आधार स्तम्भका रूपमा लिइएको पनि बताउनुभयो ।

उहाँले नेपालको संविधानले कोपेनहेगन घोषणापत्रका प्रमुख सिद्धान्तहरूलाई आत्मसात् गरेको उल्लेख गर्नुभयो ।

विश्वका कतिपय मुलुकमा सुशासनका पक्षमा युवा पुस्ताले ल्याएको उभारजस्तै हाम्रो मुलुकमा पनि गत भदौ २३ र २४ मा जेन्जीका नाममा प्रदर्शन भएको तर आफूहरूले संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गरेर फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेको उल्लेख गर्नुभयो ।

न्यायपूर्ण, समावेशी, समतापूर्ण र दिगो विश्व निर्माण गर्ने साझा प्रतिज्ञाका रूपमा दोहा घोषणापत्र आएको र यसले हाम्रा भविष्यका कदमहरूलाई मार्गदर्शन गर्ने विश्वास उहाँले व्यक्त गर्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । रासस


ताजा खबर