११ औँ महाधिवेशन पोखरामा गर्ने नेकपा एमालेको निर्णय

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।

ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

ललितपुरको भनिमण्डलमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी । तस्बिर सौजन्यः अध्यक्ष ओलीको सचिवालय/रासस

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।

बैठकले संसद् पुनःस्थापना र जनपरिचाललगायतका निर्णयहरू गरेको छ । बैठकले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकाले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आम नागरिकलाई आह्वान गरेको छ ।

जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो । रासस


ताजा खबर