नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ।
सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाअनुसार सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसदलाई जिम्मेवारी दिने उद्देश्यका साथ आएको स्पष्ट गर्नुभयो। ‘कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो तपाईंलाई विदितै छ। ठूलो जनधनको क्षति भएको छ। मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ। सुरक्षा निकायलाई दिइएका सवारीसाधन जलेका छन्। हत्याहिंसा भएको छ। अत्यावश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ। यसको अनुसन्धान हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘नेपाली नै भएर यो काम गरेको हो भने लज्जित हुनुपर्ने हो। यस्तो घटना नेपालमा पहिलो पटक भएको हो। हाम्रा मुख्य भवनहरू अनुहार देखाउन नमिल्ने भएका छन्। यो षड्यन्त्र नियोजित हो कि भन्ने लागेको छ। अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’
प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनर्निर्माणका काम देशमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्नेमा जोड दिनुभयो। ‘म हिजो महाराजगञ्ज जाँदा त्यहाँ जलेको प्रहरीवृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भने, मैले उनीहरूलाई धन्यवाद दिएँ। हामी सबै यसरी नै मिलौँ। एकअर्काको आलोचना नगरौँ। मलाई सहयोग गर्नुहोस्।’
मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनस्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै पुनसंरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
जेनजी समूहको यही भदौ २३ र २४ गतेको आन्दोलनपछिको उत्पन्न स्थितिपछि यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले आइतवार मात्र गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गरर्नुभएको हो। रासस






















