‘कलाकारिता मेरो प्यासन हो, तर पहिले बाँच्नु पर्‍यो नि!’: कामेश्वर चौरासिया

१७ वर्षको तपस्यापछि कामेश्वरले  ‘अभिमन्यु: च्याप्टर १’ मा मुख्य भूमिका पाएपछि उनलाई सफल नेपाल टिमले भेटेर कुराकानी गर्दा उनले ‘अहिलेको समयमा म निकै सन्तुष्ट भएको बताए ।

उनी भन्छन् ‘अहिलेको समयमा म निकै सन्तुष्ट छु । मिठो निद्रा लागिरहेको छ। लामो साधनापछि वरदान पाएजस्तो लागिरहेको छ,’ कामेश्वर चौरासियाले खुसी हुँदै सुनाए।

यसो भनिरहँदा कामेश्वरको अनुहारमा चमक छाएको थियो। लाग्थ्यो: वर्षौपछि उनी दिलैबाट खुस छन्। र, चैनको श्वास फेरिरहेका छन्। हुन पनि यस क्षणका लागि कामेश्वरले १७ वर्ष कुर्नुपर्‍यो।

१७ वर्ष कुनै कठिन तपस्याभन्दा कम थिएनन्।

दुई दशकअघि हिरो बन्ने सपना बुनेर काठमाडौँ पसेका थिए उनी। तर, यो खाल्डो उनका लागि त्यति सहज भएन। नयाँ सहर अनि विराना मान्छेहरू। दैनिकी चलाउन समेत हम्मेहम्मे पर्‍यो। न खानेकुरा थियो, न सुत्नको लागि ठाउँ। त्यसैले त पेट पाल्नकै लागि उनले कहिले खाना पकाउने काम गरे त कहिले सेल्सम्यान बने। कति छाक त भोकै समेत बस्नुपर्‍यो।

पेट पाल्न संघर्ष गरे पनि उनको हिरो बन्ने हुटहुटी बाँकी नै थियो। कलाकारिताको बाटो खोज्न उनले अनेक दु:ख गरे। कहिले पोस्टरमा देखिएका कलाकार खोज्दै हिड्थेँ त कहिले अडिसनमा दौडिन्थे। तर, पाउँथे आश्वासन मात्रै।

रंगमञ्चमा वर्षौं संघर्ष गरेका उनले दशकपछि फिल्म खेल्ने अवसर पाए। पहिलोपल्ट ‘छड्के’ मा सहायक भूमिकामा देखिए। त्यसपछि उनले ‘रेशम फिलिली’मा काम गर्ने मौका पाए। हरिया पात्रले एकाएक उनको क्रेज बढाइदियो। त्यसपछि अन्य फिल्ममा पनि देखिए।

लिड रोलको सपना देखेका उनले सहायक भूमिकामै चित्त बुझाउनुपर्‍यो। प्रमुख भूमिका खोज्दा उनी पाँचवर्ष कामविहीन भए।

अन्तत: कामेश्वरको समय आएको छ। किनकि १७ वर्षपछि उनी फिल्म ‘अभिमन्यु: च्याप्टर १’ मा मुख्य भूमिकामा देखिएका छन्। यो फिल्म भदौ २७ गतेबाट सिनेमाहलमा रिलिज हुँदैछ।

‘सुरूदेखिकै संघर्ष मुख्य कलाकारको लागि थियो। जसको लागि १७ वर्ष कुर्नुपर्‍यो। बीचमा धेरै गाह्रो भयो। ५ वर्ष ग्याप पनि राखेँ। आज जुन कुरा पाएको छु, भगवानले दिनुभएको छ। सकिनँ तेरो परीक्षा लिन भनेजस्तो लाग्छ। टिजर र ट्रेलरबाट पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ। निकै खुसी छु,’ उनले भने।

कोरोनाका कारण ‘माछा तारेर बेच्ने’ व्यवसाय सधैँका लागि बन्द भयो। त्यसपछि कामेश्वर फेरि फिल्मक्षेत्रमै फर्किए। गत फागुन ताका। उनी अभिनीत फिल्म ‘फेरि रेशम फिलिली’ रिलिज भइसकेको थियो। फिल्मले त्यति सन्तोषजनक व्यापार गर्न सकेन।

त्यसैबेला निर्माता विनोद पौडेलले फोन आयो। पौडेल तिनै निर्माता हुन्, जसको लगानीमा बनेको ‘पूर्णबहादुरको सारंगी’ सर्वाधिक कमाउने नेपाली फिल्म हो।

पौडेलले बोलाएपछि कामेश्वर भेट्न गए। विनोदले फिल्मको स्क्रिप्ट सुनाउन थाले। मधेसकै कथावस्तु भएकाले कामेश्वर कथासँग छिट्टै बगिहाले। र, आफूले सो भूमिका गर्न सक्ने सुनाए। विनोदले पनि थपे-  हामीले खोजेको तपाईंलाई नै हो।

यो सुनेपछि कामेश्वर छक्क परे। किनकि मुख्य भूमिका पाइएला भन्ने त उनले सोचेका पनि थिएनन्।

उनी भन्छन्, ‘म त भंयकर सप्राइज भएँ। मैले सोचेको पनि थिइनँ। यो समयमा वा यो उमेरमा आएर मुख्य रोल पाउँछु भनेर। किनकि म सहायक भूमिकामै स्थापित भएको थिएँ। मेरो लागि कसैले फिल्म बनाउला भनेर सोचेको थिइनँ। सेभेन सिजले अभिमन्यु बनाउनुभयो, मलाई स्थान दिनुभयो। यसबाट के प्रस्ट भयो कि आफूले चाहेर केही नहुँदोरहेछ। सबै कुरा निर्धारण हुँदोरहेछ।’

मानिस जुन समाज र परिवेशमा हुर्किन्छ, त्यससँग सम्बन्धित कथावस्तु र घटना सुन्दाखेरि आफ्नै जस्तो लाग्छ। कामेश्वरलाई पनि यस फिल्मको स्क्रिप्ट सुन्दा त्यस्तै भयो।

कामेश्वर बारामा हुर्किए। भारतसँगको खुला सिमाना भएकाले उनले सानैदेखि तस्करी देखे। जुन कुराहरू उनको लगभग स्मृतिबाट हराइसकेको थियो। तर, अभिमन्युको कथा सुनेपछि ती कुराहरू सम्झिए। यसले पनि आफूलाई त्यस पात्रसँग नजिक हुन सहज भएको सुनाउँछन् उनी।

‘अहिले पनि घटनाहरू घट्छन्। र, मान्छेहरूले अफसोस गर्छन्। घटना जुनसुकै कुनामा घटोस् नेपाली भएकाले रिलेट गरिदिन्छ। एउटा मनुष्यले रिलेट गर्ने घटनालाई चरित्र निर्वाह गरिरहेकोले एक्टरले पनि रिलेट गर्न सक्छ। म विगतका कुराबाट रिलेट भएको छु,’ उनले सुनाए।

यो फिल्म सस्पेन्स थ्रिलर जनरामा बनेको हो। कमेडी रोल गरिरहेको कामेश्वरलाई यो भूमिकामा फिट हुन केही गाह्रो भएको उनको अनुभव छ।

त्यस्तै, अचेल फिल्ममेकरहरू मधेसतिर पुगेको महसुस गर्छन् उनी। जसले आफूहरूजस्ता कलाकारहरूका लागि बाटो खुलेको उनको बुझाइ छ।

‘मेकरहरू मधेसतिर पनि पुग्न थालिसक्यो। त्यहाँको कथा पनि आउन थालिसक्यो। त्यसकारण बाटो खुल्यो कि जस्तो लागिरहेको छ ,’ उनले भने, ‘मधेसको क्यारेक्टरमा सुधार भएको छ। उद्योगले यो पनि बुझ्न लागेको छ कि अब मधेसको पात्र पानीपुरी र हाँसोको रूपमा मात्र सीमित छैन। मेकरहरूले यो कुरा बुझेका छन्। यसले केही राम्रो गरेको छ।’

ट्रेलर हेर्दा फिल्मको कथा मुख्य पात्र कामेश्वर वरिपरि घुमेको छ। फिल्ममा उनले परिवारको सुरक्षाको लागि जस्तोसुकै कदम चाल्न बाध्य पात्रको भूमिका निर्वाह गरेका छन्।

‘यो सस्पेन्स थ्रिलर हो। धेरै खुलाउन त मिल्दैन। तर, एउटा मान्छेको पारिवारिक जिम्मेवारी के हुन्छ? परिवारको पेट पाल्नेदेखि सुरक्षाको लागि छोरामान्छेले जुन पनि बाटो अपनाउन सक्छ। पात्र पनि यसै सेरोफेरोमा छ। पारिवारिक कथा भएकाले सबैसँग रिलेट हुन्छ,’ उनले सुनाए।

‘अभिमन्यु: च्याप्टर १’ ले करिअरमा नयाँ आयाम थप्ने 

‘यसअघिका फिल्ममा मैले जस्तो भूमिका निर्वाह गरेँ, त्यो भन्दा फरक भूमिकामा देखिएको छु। मैले सक्दो गरेको छु। टिमबाट राम्रो काम भएको छ। यस फिल्मले मेरो करिअरमा नयाँ आयाम थप्नेछ। जसरी पहिले माया गर्नुभएको थियो, यो फिल्म एकचोटि हेरिदिनुहोला। मप्रतिको जुन दृष्टिकोण छ, त्यसमा फरक ल्याउँछ जस्तो लाग्छ।’

केही वर्ष कामेश्वर मुख्य भूमिका खेल्छु भनेर लागे। सहायक भूमिका खेल्दिनँ भन्दा धेरैले उनलाई घमण्डी भन्दै हल्ला फैलाए। तर, उनले धेरै कुराको खण्डन गर्न चाहेनन्। किनकि उनलाई थाहा थियो: अरूलाई जवाफ फर्काउनुभन्दा नयाँ काम गर्नुपर्छ।

त्यो बेला कामको मोहभन्दा पनि आफू जीवित हुनुपर्ने कुरा अनुभूति भएको बताउँछन् उनी।

‘त्यतिबेला मैले के महसुस गरेँ भने जुन कर्मको लागि ठोक्किएको छु, त्यसको लागि म जीवित रहन सक्नु सर्त हो जस्तो लाग्यो। कलाकारिता त मेरो नितान्त व्यक्तिगत प्यासनको कुरा हो। यसमा मेरो परिवारको सपना जोडिएको छैन। मेरो परिवारलाई जीवित राख्नको लागि मैले एउटा व्यवसाय गरेको थिएँ। धेरैले साथ पनि दिनुभएको थियो,’ उनले भने।

उनका अनुसार जीवन सुन्दर छ तर बाँच्न त्यति नै कठिन छ।

‘म सय वर्ष बाँचे पनि कलाकारितालाई त्याग्न सक्दिनँ। म बाँच्नको लागि व्यावसायिक रूपमा लागेको हो। आफैँ गर्नु बाध्यता थियो। डिप्रेसनले भित्रभित्रै मारिदिन्छ। कामले भने उर्जा दिन्छ, मर्न दिँदैन। जुन कुरा मलाई अनुभूति भयो,’ कामेश्वर भन्छन्।

 पहिलोपल्ट मुख्य भूमिकामा राख्ने निर्माताप्रति आभार ।

भन्छन्, ‘मेकरका हिसाबले उहाँहरूले विश्वास गर्नुभएको छ। मैले पनि आफूले सक्दो गरेको छु। म एकदम प्रोत्साहित भइरहेको छु। बाँकी त दर्शकको हातमा छ। आशावादी पनि छु, डर पनि लागिरहेको छ। अब दर्शकले कसरी लिनुहुन्छ, त्यसको लागि भदौ २७ नै कुर्नुपर्छ।’ सफल नेपाल


ताजा खबर