नेपाली सेनालाई दुईवटा नयाँ स्काईट्रक विमान सहयोग

अमेरिकाले ३७ मिलियन डलर ( ४ अर्ब ९२ करोड रुपैयाँ ) बराबरको विदेशी सैन्य सहयोगमार्फत नेपाली सेनालाई दुईवटा नयाँ एम ट्वाइन्टिएट स्काईट्रक विमान हस्तान्तरण गरेको छ। यससँगै नेपालसँग अब पाँचवटा स्काईट्रक विमान भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत डिन थोम्पसनले विमान नेपाली सेनालाई हस्तान्तरण गरे। कार्यक्रममा परराष्ट्र मन्त्री डा. अर्जु राणा देउवा, रक्षा मन्त्री मानवीर राई, सेनाध्यक्ष अशोकराज सिग्देल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

राजदूत थोम्पसनले विमानले नेपालको मानवीय उद्धार र आपतकालीन क्षमतामा ठूलो सहयोग गर्ने बताए। उनले भने, “यी विमानहरू केवल मेसिन मात्र होइनन्, जीवनरेखा हुन्। यीले नेपाललाई आपतकालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन सक्षम बनाउनेछन्।”

परराष्ट्र मन्त्री देउवाले यस हस्तान्तरणलाई नेपाल–अमेरिका मित्रता र सहकार्यको प्रतिक भन्दै आभार व्यक्त गरिन्। उनले भनिन्, “यसले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता मात्र बढाउँदैन, नेपाल र अमेरिकाबीचको दीगो मित्रता र सहकार्यलाई पनि प्रष्ट पार्छ।”

लकहिड मार्टिनको सहायक कम्पनी पि जेड एल मिली (PZL Mielec) ले निर्माण गरेका यी बहुउपयोगी विमानमध्ये एउटा एयर एम्बुलेन्स (मेडेभाक) का रूपमा तयार गरिएको छ। छोटो धावनमार्गमा उडान र अवतरण गर्न सक्ने भएकाले यी विमानहरू दुर्गम क्षेत्रमा आपतकालीन उद्धार तथा आपूर्ति पु-याउन उपयोगी हुनेछन्।

अमेरिकाले सन् २०१९ मै दुईवटा स्काईट्रक प्रदान गरेको थियो भने नेपालले एउटा प्रत्यक्ष खरिद गरेको थियो। त्यसयता नेपाली सेनाले यी विमानलाई विपद् उद्धार, स्वास्थ्य आपतकालीन सेवा र दुर्गम गाउँमा आपूर्ति पु-याउने कार्यमा प्रयोग गर्दै आएको छ। सफल नेपाल


ताजा खबर