चिनियाँ राष्ट्रपति सी जिङपिङले चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चीनको सबैभन्दा ठूलो सैन्य परेडलाई सम्बोधन गर्दं राष्ट्रपति सीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।


चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन, नेपालका प्रधानमन्त्री के पि शर्मा ओली बेइजिङमा चीनको सैन्य शक्ति प्रदर्शन अवलोकन गर्न उपस्थित हुनुहुन्थ्यो ।

चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।



परेडका क्रममा चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्यो । पाकिस्तानले आफ्ना सुरक्षा आवश्यकताका लागि यसै मिसाइल प्रणालीको संस्करण प्राप्त गरेको थियो । पाकिस्तानी मिडियाका अनुसार यस प्रणालीले ‘अपरेसन सिन्दूर’ मा प्रयोग भएको देखिए पनि भारतीय मिसाइल आक्रमण रोक्न भने असफल भएको थियो ।



सम्बोधनमा चिनियाँ राष्ट्रपति सीले देशलाई ‘अजेय’ भन्दै शान्तिपूर्ण विकासप्रतिको आफ्नो दृढता दोहोर्याउनुभयो । “चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनेछ । चिनियाँ राष्ट्रको कायाकल्प रोक्न सकिँदैन र मानवताको शान्ति तथा विकासको लक्ष्य प्रबल हुनेछ”, उहाँले भन्नुभयो । तस्बिरः सिन्ह्वा






















