अनुप बराल नाटकका निर्देशक हुन् । भारतको ‘नेसनल स्कुल अफ ड्रामा’मा अध्ययन गरेर फर्किएका उनले नेपाली रंगमञ्चमा अलग पहिचान बनाएका छन्।
सामाजिक विषयवस्तुमाथि गहन नाटक निर्माणका लागि चर्चित अनुप फिल्म क्षेत्रमा पनि परिचित नाम हो।
‘थाङ्ला’, ‘३० डेज इन सेप्टेम्बर’, ‘कोर्टमार्शल’ जस्ता नाटक निर्देशन गरेका उनले ‘दासढुंगा’, ‘फिटकिरी’, ‘डमरुको डन्डिबियो’ जस्ता फिल्ममा अभिनय गरेका छन्।
उनीद्वारा निर्देशित चलचित्र ‘दोख’ प्रदर्शन हुने क्रममा छ।
सफल नेपालसँगको कुराकानीमा उनले रंगमञ्चका शैलीसँगै यसमा सामाजिक परिवेश र त्यसले एक निर्देशकलाई कसरी असर गर्छ भन्ने बारेमा बोलेका छन्।
एउटा पुरानो अन्तर्वार्तामा नेपाली दर्शकले चेतना नबढाएसम्म रंगमञ्चलाई माथि जान गाह्रो हुने भन्नुभएको छ। त्यसबारे अहिले केही भन्नु छ?
हामीले नाटक गर्न थालेको बेला नेपालमा दुई किसिमका नाटक प्रचलित थिए। एकथरी बौद्धिक किसिमका प्रयोगवादी हुन्थे भने अर्काथरी ‘कमर्सियल’ नाटक हुन्थे जसमा दुईअर्थी संवादको बाहुल्यता हुन्थ्यो।
त्यस्ता नाटक प्रयोगवादी नाटकभन्दा बढी लोकप्रिय हुन्थे। हामी सरुभक्त दाइको संगतमा हुर्किएर काम गर्थ्यौं। त्यसैले धेरैजसो प्रयोगवादी कामनै गर्थ्यौं।
नाटक हेरिसकेर दर्शकहरू जहिल्यै पनि हामीलाई सबैले बुझ्ने सरल नाटक किन गर्नुहुन्न भनेर सोधिरहन्थे।
सरुभक्त दाइको त्यति बेलाको नाटक लेखन शैली धेरै सांकेतिक हुन्थ्यो। पञ्चायतकालको समय भएकाले ठ्याक्कै आफूलाई लागेको कुरा भन्न सकिहाल्ने अवस्था थिएन।
त्यसैले बढी सिम्बोलहरू राखेर उहाँ लेख्नुहुन्थ्यो। त्यो लेखाइले शासन व्यवस्थालाई छुन्थ्यो। लोकनाटक गर्दा पनि उहाँ समाज र समाजको संरचनालाई उक्त शासन प्रणालीले गरेको खराबीहरू औंल्याउँनुहुन्थ्यो।
हामीले ‘शिशिरका अन्तिम दिनहरू’ भन्ने नाटक पोखरामा गरेका थियौं। उहाँकै ‘मलामी’ नाटक गर्दा चाहिँ मलाई बौद्धिक नाटक गरे पनि सँगसँगै दर्शकलाई ‘कनेक्ट’ गर्ने बाटो खोज्नुपर्ने रहेछ भन्ने थाहा भयो।
प्रतिकात्मक केही कुरा राख्दा त्यसमा केही न केही नेपाली भावसँग जोडिएका कुराहरू मिसाएर प्रस्तुत गरे त्यसको प्रभाव धेरै राम्रो हुन्छ भन्ने कुरा बुझेँ।
नाटक तीन/ चारपल्ट देखाउँदा पनि मानिसहरूले हेर्न चाहिरहेका हुन्थे।
यसर्थ रंगकर्मीको दोहोरो जिम्मेवारी हुन्छ। हामीले जनताले बुझ्ने किसिमका नाटकहरू पनि गर्नुपर्छ र सँगै नेपाली नाटकको उत्थानको तथा परिवर्तन र विकासको लागि अलि बढी ‘एक्सपेरिमेन्टल’ काम गर्नु पनि जरूरी छ।
दुवै काममा तालमेल भने मिलाउनुपर्छ। ‘मलामी’ नाटक बौद्धिक पनि थियो र प्रयोगवादी पनि। त्यहाँ समाजका कुराहरू आएका थिए त्यसैले जनतासँग सजिलै कनेक्ट भयो। त्योभन्दा पहिलाका एक्सपेरिमेन्टल नाटक नै असाध्यै जटिल हुन्थे। मान्छेलाई बुझ्न गाह्रो हुन्थ्यो।
तपाईंको ‘३० डेज इन सेप्टेम्बर‘ नाटकले पनि ‘महाभोज‘ मा जस्तै सामाजिक र राजनीतिक मुद्दा उठाएका छन्। यस्ता नाटकहरूले दर्शकको चेतनालाई कसरी बढाउलान्?
दुई तरिकाले हुन्छ होला। जुन मुद्दा हामीले उठाएका छौं त्यसका पीडकहरूले महशुस गर्न सक्छन्। यस्तो भएमा यस्तो पनि स्थिति आउन सक्ने रहेछ भनेर चिन्न वा पहिचान गर्न सक्छन्।
नाटकमा भएको मुद्दाको कारणले त्यस्तो हुन्छ। त्यसलाई प्रस्तुत गर्ने बेलामा हामीले जुन ‘डिभाइस’हरू लिएका थियौं त्यसले यसरी पनि भन्न सकिँदो रहेछ भन्ने कुरा सिकायो।
त्यो डिभाइस परम्परागत तरिकाभन्दा फरक थियो। ती डिभाइसले अहिले हामीले बाँचिरहेको समयबाट हेरिरहेका छौं र आजको समाजबाट आएका फरक/फरक माध्यमहरूलाई उपयोग गरिरहेका छौं भनेर सम्बन्ध स्थापित पनि गराएका थिए।
‘३० डेज इन सेप्टेम्बर’ मा मैले मल्टिमिडियाको उपयोग गरेको थिएँ। ‘प्युडोफेलिया’को समस्याबाट ग्रस्त भएको मान्छे काउन्सिलरकोमा जाँदा उनीसँगको कुराकानी काउन्सिलरले रेकर्ड गर्छ।
नाटक लेखिएको समयमा अडियो रेकर्डिङ गर्ने चलन थियो। मैले निर्देशन गरेको समयमा भिडिओ रेकर्ड गर्न थालिसकिएको थियो। त्यसैले मैले भिडिओ रेकर्डको प्रयोग गरेँ।
त्यसलाई प्रोजेक्टरबाट देखाएँ। मेरो मतलब एउटा निर्देशकले कसरी सामग्री छान्छ र त्यसले आजको समयको बिम्बलाई कसरी लिएर आउँछ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
निर्देशकले नाटक मात्र निर्देशन नगरेर नाटकमा अन्य धेरै आयामहरूलाई पनि बाटो दिइरहेको हुन्छ। डिभाइस प्रयोग गर्ने तथा सेटमा प्रयोग गर्ने चिजहरू पनि छनोट हुन्। त्यसमा समाजको प्रभाव रहन्छ। एउटा निर्देशकको रूपमा आफूलाई हेर्दा कहाँ पाउनुहुन्छ? कस्तो पाउनुहुन्छ?
म समाजको एकाइ भनेर आफूलाई सोच्छु। बाँचिरहेको समाजमा भइरहेका कुराले मलाई अत्यन्तै असर गर्छन्। थिएटर मेरो लागि निराशा र फ्रस्टेसन तथा मनको कुण्ठा बाहिर निकाल्ने पेनकिलर जस्तै हो।
गरिनँ भने सायद मलाई गाह्रो हुन्छ। एक निर्देशकको रूपमा मैले छान्ने नै हाम्रो समयको कथा वा हाम्रो समयलाई समात्न सक्ने सम्वेदना हो। समयलाई सम्बोधन नगर्ने कुनै पनि साहित्य या नाटक वा सिनेमा मेरो लागि उपयोगी हैन।
महाभोज नाटकको बारेमा कुरा गरौं। यहाँको एउटा दृश्यमा दुई फरक कुर्सीमा बसेर चर्काचर्की गरिरहेका नेताहरू कुर्सी खप्टिनासाथ मिल्छन्।
अहिलेको परिवेशलाई हेर्दा त्यो कुरा सायद मेरो अवचेतन अवस्थामा थियो होला। हाम्रो देश बार्गेनिङमा चलेको छ। राजनीतिक पार्टीहरू आफ्नो सत्तालाई बचाउन कुनै पनि हालतमा कुनै पनि किसिमको सम्झौता गर्न तयार छन्।
नेपालकै सन्दर्भमा पनि लामो समयदेखिको त्यो अभ्यास देखिएको छ। आफू सत्तामा जान आफ्नो इमानलाई बन्दकी राख्ने चलन पनि नौलो हैन।
उनको लागि त्यो कुर्सी एकदमै महत्त्वपूर्ण भयो। नाटकको दृश्यमा पनि देख्दा खेरी उनीहरू विपरीत छन्। एक अर्काको विचारमा विवाद गरिरहेका छन्। ती एउटै पार्टीका अध्यक्ष र मुख्यमन्त्री हुन्।
उनीहरूमार्फत् पार्टीको आन्तरिक कलह र शक्ति संघर्ष हेर्न सकिन्छ। आफू श्रेणीगत तहमा माथि बसिसकेपछि आफ्नो तल भएका मानिसहरूलाई उनीहरू कसरी विचार लाद्न अभ्यस्त छन् भन्ने कुरा त्यसले देखाउँछ।
जो शक्तिशाली हुँदै गएका छन् सबै उसको पछिपछि लागिरहेका छन्।
नाटकको दृश्यमा पनि मुख्यमन्त्री अलि शक्तिशाली हुँदै गएको अवस्थामा पार्टीको अध्यक्ष निर्णय गर्न असमर्थ हुँदै गरेको देखाइएको छ। उनीहरू कुर्सी यताउता सार्दै आफ्नो असन्तुष्टिहरू व्यक्त गर्छन्।
तर त्यसकै बीचमा मुख्यमन्त्रीलाई असफल बनाउँदा आफू पनि असफल हुन्छौं कि भन्ने डर अध्यक्षलाई हुन्छ।
कहीँ गएर उनीहरूको विचार कुर्सीको स्वार्थमा मिल्छ। कुर्सी एक किसिमले हेर्दा स्वार्थ पनि हो जहाँ गएर उनीहरू एकाकार भएका छन्। दुवैले एउटै स्वार्थ बोकेका छन्।
अर्को दृश्यमा मृत्यु भएको लासको पछाडि मानिसहरू पार्टी र भोज गरिरहेका छन्। अझ लासमाथि नै किस्ती राखेर रक्सी ‘सर्भ’ गरेको देखाइएको छ। मरेको मानिसको अगाडि मानिसहरू रमाइरहेका छन्।
‘महाभोज’ भन्ने शब्द आफैंले मलाई प्रेरित गर्यो। यो शब्दसँग मलाई दुई-तीन वटा इमेज आउँछ। नेपालमा पनि यसबारेमा लेखिएको छ।
अन्तिम भोज भन्ने पनि कथा छ। लियोनार्दो दा भिन्चीको ‘दि लास्ट सपर’ बाट पनि प्रभावित भएँ। नाटकमा मैले जुन कथा भनिरहेको छु त्यसको ‘एलिमेन्ट’ अलि ऐतिहासिक होस् भन्ने मैले सोचेको थिएँ। यसैले पनि भिन्चीको पेन्टिङको प्रभाव रह्यो।
इजिप्टले इजरायलमा आक्रमण गरेको हुन्छ। त्यसबाट मुक्त भएपछि पार्टी गरिएको हुन्छ। त्यहाँ जुडास भन्ने मान्छेले विरोधीहरूसँग मिलेर जिससलाई मार्न योजना बनाइरहेको हुन्छ। पेन्टिङमा जिसस् सेन्टरमा हुनुहुन्छ।
मैले त्यसैको रेप्लिकेट गर्न खोजेको हुँ। महाभोज नाटकमा सूत्रधार त्यसरी नै बीचमै पल्टिएको छ। यहाँ पनि एकातिर महाभोज भइरहेको छ भने अर्कोतिर एक निर्दोषलाई यातना दिइँदै छ। सँगसँगै लास छ।
कति मान्छे मरिरहेको बेलामा कति मान्छेहरू महोत्सव मनाइरहेका छन्। एक हिसाबले हामीसँग संवेदना हराउँदै गएको छ। र किन हराउँदै गयो भन्ने प्रश्न सोध्न पनि उक्त सिन निर्माण गरेको हुँ।
मान्छेहरू अमानवीय र संवेदनाहीन हुँदै गएका छन् र हाम्रो देशको स्थिति र अर्थव्यवस्था पनि संवेदनशील देखिरहेको छैन। जुन देशमा खराब राजनीति हुन्छ त्यहाँको साहित्य र रंगमञ्चमा पनि त्यसको असर पर्छ।
त्यसले नराम्रो चिज बनाइरहेको हुन्छ। राम्रो गर्न दिँदैन। त्यसले हामीले हेर्ने, सोच्ने दृष्टिकोणमा नै ठूलो महशुस गर्छ। मान्छेहरू संकुचित हुँदै जान्छन्। आफ्नो बारेमा मात्र सोच्न थाल्छन्।
त्यस्तो अवस्थामा एउटा थिएटर आर्टिस्ट र निर्देशकले आफूलाई कसरी अलग गर्ने प्रयास गर्छ? तपाईं कसरी गर्नुहुन्छ?
महाभोज नाटकमै जोड्न चाहन्छु। यसको कथा आजकै समयको हो भनेर झल्को आउँछ। देशको राजनीतिक स्तरमा भएको धेरै घटनाहरू त्यहाँ छन्। अनुवादक विप्लव प्रतीक भन्नुहुन्छ ‘यो नाटक तीन वटा पी अर्थात् पुलिस, प्रेस र पोलिटिक्स मा बनेको छ।’
यो कुराले अहिलेको समयमा हामी जनताहरूलाई बढी असर गरिरहेको छ। जहाँसम्म अलग गर्ने कुरा छ त्यो गर्न नसके सायद हामी तटस्थ भएर आफ्नो कुराहरू भन्न सक्दैनौं।
यो नाटक ब्रेख्तियन परम्परा अनुरूप महाकाब्यात्मक रंगमञ्चको शैलीमा प्रस्तुत गरिएको छ। ब्रेख्तले एउटा ‘एलिनेसन’ भन्ने टर्म दिएका छन् जसलाई हामी नेपालीमा अलगाव भन्छौं। हामी नाटक हेरिरहँदा त्यसको भावमा बढी गहिरियौं भने त्यसले दिन खोजेको सन्देश दिमागसम्म आइपुग्दैन।
ब्रेख्त भन्छन् ‘नाटकले दर्शकलाई भावनाको कैदी नबनाई मानसिक रूपमा शिक्षित गर्नुपर्छ।’
त्यसको लागि अलगाव चाहिन्छ। अलगावले घटना हेर्दै गर्दा भावनामा बग्ने सँगै त्यसलाई हेर्ने तटस्थता पनि प्रदान गर्छ। भावनामा बग्दै गर्दा मान्छेले विवेकी भएर सोच्न सक्दैन। ऊ एकपक्षीय मात्र हुन्छ।
यो नाटकलाई ऐतिहासिक समयमा लिएर जाने कोशिस गरिएको छ। त्यसैले पनि दर्शकलाई आफूले हेरिरहेको घटना अहिले हैन पहिला नै घटेको हो भन्ने भान पर्छ। यदि परेन भने पनि यो कुनै पनि समयमा भएको थियो जसलाई यिनीहरूले पुन: सुनाउँदै छन् भन्ने बुझ्छन्। त्यसले एक प्रकारले ‘एलिनेसन’ ल्याउँछ।
यसमा प्रयोग भएका केही डिभाइसहरू महत्त्वपूर्ण छन्। लास छोप्न राखेको कपडा उठाएपछि लास आफैं उठेर हिँड्छ। जुन वास्तविक जीवनमा सम्भव छैन। त्यसको रूपलाई पनि मुचुल्का उठाउँदा बनाइने चित्रमा देखाएका छौं। त्यसले दर्शकलाई यो के गरेको भन्ने सोच्न लगाउँछ।
त्यसले दर्शकलाई मान्छे मरेको जुन भावना थियो त्यो ब्रेक गरेर के गरेको होला भन्ने प्रश्नमा तानिदिन्छ। त्यसरी भन्न खोजेको कुरा के हो भन्ने पनि सोच्छन्।
जिम्मेवारीको कुरालाई हेर्दा नाटकका धेरै किसिमका शैलीहरू छन्।
फोरम थिएटर छ जहाँ मान्छेहरू आफ्नो समस्याको बारेमा आफैं बोल्छन्। सडक नाटक छ। नाटकको शक्ति ठूलो हुन्छ।
नाटकले सरकारको विचारको पर्खाल पनि भत्काउन सक्छ। मान्छेको विचारको पर्खाल पनि भत्काउन सक्छ। त्यसको धेरै उदाहरण छन्। त्यसैले पनि मलाई लागेको कुरा भन्नुपर्छ जस्तो लाग्छ। भन्ने क्रममा त्यसलाई ‘एस्थेटिकल्ली’ कसरी देखाउने भन्ने कुरा चाहिँ सोच्नुपर्छ।
नाटकले ऐतिहासिक तरिकाले कथा भन्न खोजेको भए पनि त्यसको विषय हेर्दै गर्दा दर्शक अहिलेकै व्यवस्था सम्झिने ठाउँ छ। त्यहाँ प्रहरी छ जसले अनुसन्धानलाई प्रभावित पार्न खोजेको छ। त्यसलाई हेरिरहँदा दर्शकले निर्मला हत्याकाण्ड तथा सुन काण्डहरूमा प्रहरीले खेलेको भूमिका त सम्झिन्छन्। अहिलेका घटनाक्रमलाई सोच्दा यदि यो नाटक २ वा ३ वर्ष पहिला गरेको भए के फरक पर्थ्यो?
समय र कालखण्ड हेरेर दर्शकले ‘रिलेट’ गर्न सक्छन्। भर्खर भर्खर भएका घटना देखायो भने उनीहरूलाई चाँडै कनेक्ट पनि हुन्छ। शैली बनाउने क्रममा त्यहाँ लगिएको भए पनि फेरि भन्न त हामीले अहिलेको कथा नै भनिरहेको हौं।
त्यसलाई बनाउँदा हामीले सरकारले गर्ने दृष्टिकोण पनि हेर्छौं। सिधा कुनै कुरा उठाउँदा त्यसले ‘सेन्सरसिप’ लाग्न सक्ने अवस्था पनि हुन सक्छ। यसरी गर्दा भने त्यसबाट बच्न पनि सक्छौं। र शैली पनि हो। एलिनेसन र ‘डिट्याचमेन्ट’लाई पनि ख्याल चाहिँ गरेका छौं।
पहिचानका कुराहरू चलिरहेको समय भएकाले नाटकमा ‘पोलिटिकल्ली करेक्ट’ कसरी हुन सकिन्छ भन्ने किसिमको सजगता अपनाएका छौं। धेरै मानिसहरूसँग कुराकानी गर्दा दलितभन्दा खास जातिलाई मात्र बुझाइने नभएर समग्र रूपमा जो दलिएका छन् र पछाडि पारिएका छन् सबैको बिम्ब हुने किसिमले प्रयोग गरिएको हो। त्यसैले पनि नाटकमा दलित राखिएको हो।
मधेस आन्दोलन, टिकापुर घटना जस्ता कुराहरू पनि यसमा ठ्याक्कै मेल खान्छन्। जस्तो कि कोही मान्छे टिकापुरमा भएको घटनाको बारेमा बोल्न खोजिरहेको छ त्यो मान्छेलाई जेलमा हालिएको छ। नाटकमा पनि गाउँमा भएको घटनाको बारेमा विनोद भन्ने पात्र बोल्न खोज्दा उसलाई जेलमा हालिएको छ। उसले पछाडि यातना भोगिरहेको बेला बाहिर मान्छेहरू महाभोज गरिरहेका छन्।
अर्को पुरानो अन्तर्वार्तामा थिएटरले रातारात परिवर्तन गर्न सक्दैन भन्नुभएको थियो। यसले के-के गर्न सक्छ र हस्तक्षेप गर्नुपर्यो भने के-के गर्न सक्छ?
यो एक किसिमको अभ्यास नै हो। नाटक छान्दा कस्तो किसिमको नाटक छान्नुहुन्छ र आफ्नो समयलाई लिएर तपाईंको समवेदना कस्तो छ भन्ने कुराले धेरै फरक पार्छ। यसले रातारात परिवर्तन नगरे पनि हामी जति धेरै मुद्दाहरूमाथि काम गर्छौं। त्यसले ठूलो दर्शकसम्म पुगेर त्यसले चेतनाको प्रसार भने गर्न सक्छौं।
कालान्तरमा गएर मानिसहरूलाई यो चिज नाजायज थियो र यस्तो गर्नु हुँदैन भनेर आफूसँग सचेत भने गराउन सक्छ। यसरी नै गर्नुपर्छ वा यसरी नै गर्नुपर्छ भन्ने हुँदैन। तर नियमित रूपमा हामीले नडराइकन रंगमञ्चले भन्ने भाषामै समाजका कुराहरू, राजनीतिक र विसंगतिका कुराहरू लिएर आयौं भने कहीँ न कहीँ जनतासम्म पुग्न र चेतना पनि बाँड्न सक्छौं भन्ने लाग्छ।