ब्यांकको ब्याजदर बढ्यो : कर्जाको ब्याज झनै महँगो

ब्यांकर्सहरूको संस्था नेपाल ब्यांकर्स संघले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको संघको बैठकले १ फागुनबाट लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको हो।

नयाँ निर्णय अनुसार, व्यक्तिगततर्फ मुद्दतीमा १०.०५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्‍याइएको छ। संस्थागत निक्षेपकर्ताले १०.३ प्रतिशत प्रतिशत पाउनेछन्।

अब निक्षेपकर्ताले बचत खातामा कम्तीमा पाँच प्रतिशत र कलमा ३.०१५ प्रतिशत ब्याजदर पाउनेछन्। रेमिटेन्स खाताको ब्याजदर १२ प्रतिशतसम्म हुनेछ।

यसअघि ब्याजदरलाई दोहोरो अङ्कमा पुग्न नदिन नेपाल राष्ट्र ब्यांकले हस्तक्षेप गरेको थियो। अर्थशास्त्रीहरूले ऋण असाध्यै बढेको तथा आयात थेग्नै नसक्ने गरी चुलिएर अर्थतन्त्र नै समस्यामा पर्न थालेपछि ब्याजदरमा हस्तक्षेप गर्न नहुने बताउँदै आएका थिए।

संघले आफ्ना सदस्यलाई फागुन महीनाको ब्याजदर निर्धारण गर्दा शुक्रबार गरिएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

निक्षेपको ब्याजदर बढेपछि आधार दर बढ्ने कारण स्वतः कर्जाको समेत ब्याजदर बढ्नेछ। अब ब्यांकको कर्जाको ब्याजदर झन् चर्को हुने निश्चितप्रायः छ। ब्यांकहरूले अधिक कर्जा प्रवाह गरेका कारण वित्तीय प्रणालीले लगानीयोग्य रकमको अभाव खेपिरहेको छ।


ताजा खबर