आइसिसी प्लेयर अफ दी मन्थको उपाधि सन्दीपले जिते

नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसिसी प्लेयर अफ दी मन्थको विजेता बनेका छन् । आइसिसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको विजेता घोषणा गर्दा यो पटक सन्दीपले उपाधि जितेका छन् ।

यस्तै महिला तर्फ इंग्ल्याण्डकी कप्तान हिथर नाइट विजेता बनिन् । सन्दीपले बङ्गलादेशका बायाँ हाते बलर नासुम अहमेद र अमेरिकी खेलाडी जसकरन मल्होत्रालाई पछि पार्दै सेप्टेम्बर महिनाको विजेता बने । 

सन्दीपलाई अहमद र मल्होत्राले कडा टक्कर दिएका थिए । भोटिङका आधारमा आइसिसीले विजेताको घोषणा गरेको हो । सेप्टेम्बर महिनामा सन्दीपले ओमानमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जसमा उनले आइसिसी विश्वकप क्रिकेट लिग टु मा ८ खेल खेल्दा १८ विकेट लिएका थिए । जसमा उनको एभरेज सात दशमलव ३८ को रहेको थियो । उनले सो प्रतियोगितामा तीन दशमलव १७ को इकोनोमीमा बलिङ गरेका थिए । 

पपुवा न्युगिनी विरुद्धको खेलमा उनले करियरकै उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन दिएर ६ विकेट लिएका थिए । यसका साथै उनले पीएनजी विरुद्धकै पहिलो खेलमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए भने ओमानविरुद्धको खेलमा १८ रन दिएर ४ विकेट लिएका थिए । 

सन्दीप एक दिवसीय क्रिकेटमा कम खेलमा ५० विकेट लिने खेलाडीको होडमा पनि रहेका छन् । उनले अहिलेसम्म १६ खेलमा ४१ विकेट लिइसकेका छन् । अरू दुई खेलमा नौ विकेट लिएको खण्डमा उनी कम खेलमा ५० विकेट पुरा गर्ने पहिलो खेलाडी बन्नेछन् । 

अहिले यो रेकर्ड श्रीलंकन खेलाडी अजन्था मेन्डिसको नाममा रहेको छ । यस्तै दोस्रो स्थानमा भारतीय पूर्व खेलाडी अजित अगारकर छन् । उनले २३ खेलमा ५० विकेट पुरा गरेका हुन । 

सन्दीप आइसिसीको प्लेयर अफ दी मन्थको मनोनयनमा परेका दोस्रो नेपाली खेलाडी हुन । यसअघि गत वैशाखमा कुशल भुर्तेल मनोनयनमा परेका थिए । तर त्यो बेला पाकिस्तानी खेलाडी बाबर अजाम विजेता बनेका थिए । –रासस


ताजा खबर