बेलायतमा कोरोना विरुद्धको खोप लगाउने बढे

कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने विश्वकै पहिलो मुलुक बेलायतमा एक हप्ताको अवधिमा एक लाख ३७ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

बेलायतमा गत हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाएर कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको हो ।

बेलायतले फाइजर बायोएनटेकको खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिए लगत्तै खोप कार्यक्रम शुरु गरिएको हो । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउँदै यसलाई राम्रो शुरुआतको रूपमा लिन आग्रह गर्नुभएको छ ।

बेलायतले चार करोड डोज खोप माग गरिसकेको छ । सो खोप बेलायतका दुई करोड मानिसलाई पुग्ने छ । खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउने बेलायतको योजना रहेको छ । बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ । –रोयटर्स


ताजा खबर