‘रासायनिक मलको आपूर्ति एक हप्ताभित्र सहज हुने ’

धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको आपूर्ति एक हप्ताभित्र केही सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अहिले रासायनिक मल नपाएको गुनासो किसानहरुबाट आईरहेकोमा मन्त्रालयले चासो दिँदै एक हप्तामा आपूर्ति तथा वितरण प्रणालीमा सहजता आउने जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले आयात गरेका मल आइपुग्ने हुनाले एक हप्तामा आपूर्ति सहज हुने मन्त्रालयको विश्वास छ ।

विगतका वर्षहरुमा मलको अभाव हुने गरेको भन्दै सरकारले यस वर्ष समयमै थप १ लाख २० हजार मेट्रिक टन मल आयात गर्न बजेट व्यवस्था गरेको भएपनि कोभिड–१९ का कारणले विभिन्न देशमा लकडाउन हुँदा आयात–निर्यात प्रभावित भइ मल आपूर्तिमा ढिलाइ हुन गएको हो ।

धान रोपाइँ गर्दा चाहिने डिएपी मलको आपूर्ति हाल सहज भए पनि बाली हुर्किएपछि चाहिने युरिया मलको भने देशभर अभाव रहेको छ ।

हाल खेतीपातीको समयमा युरिया मल उपलब्ध नहुँदा धानको उत्पादन घट्ने कुराले देशभर किसानहरुमा चिन्तासंगै आक्रोश पनि देखिन थालेको छ । -रासस


ताजा खबर