कोरोनाभाइरस: भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय

विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ।

जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन्। एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ।

नब्बे हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै ३,२०० जनाको मृत्यु भएको पुष्टि भएको छ।

भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो।

कोरोनाभाइरस

“चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ। यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरि नै अभाव हुनसक्छ,” चाइना मार्केट रिसर्च ग्रूपका विश्लेषक शउन रेनले बताए।

निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ। यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी१२ पर्छन्।

अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टीभन फोरम्यानले बीबीसीसँग कुरा गर्दै यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए।

“भारतमा सामग्रीको आपूर्तिमा कमी हुनासाथ त्यहाँ मूल्य बढेको सङ्केत पाइसकिएको छ,” उनले भने।

नेपाल फार्मसूटिकल्स असोसिएशनका अध्यक्ष शशिकान्त चौधरीका अनुसार नेपालमा अहिले आत्तिनुपर्ने अवस्था छैन।

नेपालमा झन्डै ६० वटा कम्पनीले औषधि उत्पादन गर्छन्। प्रत्येक कम्पनीसँग तीनदेखि छ महिनासम्म औषधि उत्पादन गर्न पुग्ने कच्चा पदार्थ मौज्दात रहेको हुनुपर्ने उनले बीबीसीलाई जानकारी दिए।

“चीनबाट आयात घटेको र भारतले केही सामग्रीको निर्यातमा कडाइ गरेका कारण केही समस्या उत्पन्न हुन सक्ने भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था छैन,” चौधरीले भने।

बजारमा देखा परेको अभाव कम गर्न विभिन्न निकायले घरटोलमा पुगेर जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।

भारत सरकारले उसले सर्वसाधारणलाई यो घोषणाबाट विचलित नहुन तथा शान्त रहन आह्वान गरेको छ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकाय एफडीएका अनुसार सन् २०१८ मा अमेरिकाले गरेको कुल औषधि आयातमा भारतको हिस्सा झन्डै एकचौथाइ थियो भने औषधिको कच्चा पदार्थको आयातमा भारतको हिस्सा ३० प्रतिशत थियो।

एफडीएका आयुक्त स्टीभन हानले भारतको पछिल्लो निर्णयले अमेरिकामा औषधि आपूर्तिमा कति असर पार्छ भनेर निर्क्योल गर्ने प्रयास भइरहेको मङ्गलवार अमेरिकाको माथिल्लो सभाका सदस्यहरूलाई जानकारी दिए।

अमेरिकाका ठूला औषधि निर्माता कम्पनीहरूले उनीहरूले आपूर्ति प्रणालीको निगरानी गरिरहेको बताएका छन्।

गत साता माइलन कम्पनीले औषधिको अभाव हुने चेतावनी दिएको थियो।

तर अर्को कम्पनी इली लिलीले इन्सुलिनसहित आफ्ना उत्पादनमा कोरोनाभाइरसका कारण कुनै अभाव हुने नठानिएको बताएको छ। बीबीसी 

 


ताजा खबर