एसीसी टी ट्वान्टी क्रिकेट : नेपालको ३३ बलमै नौ विकेटको विशाल जित (तस्बिर सहित)

एसीसी कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई नौ विकेटको भारी अन्तरले हराएको छ । थाइल्याण्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर तीन बल खेल्दै एक विकेटको क्षतिमा ७२ रन बनाएर पुरा गर्यो । प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गरेको हो । यसअघिको दुबै खेल हारेर एशिया कप छनोट प्रयितोगितामा सहभागी हुन हङकङ, मलेसिया र सिंगापुरको खेलमाथि निर्भर रहनुपर्ने नेपालले थाइल्याण्डमाथि भारी अन्तरको जित हात पारेको हो ।

नेपालको जितमा ओपनर कुशल मल्लले मात्र १८ बलमा ३६ रन बनाएर अविजित रहनुभयो । उहाँले पाँच चौका र दुई छक्का लगाउनुभयो । पारस खडका नौ रन बनाएर पेभेलियन फर्किदा पवन सर्राफले मात्र १० बलमा २७ रनको विष्फोटक पारी खेल्नुभयो । उहाँले दुई चौका र तीन छक्का लगाउनुभयो ।

टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको थाइल्याण्ड पुरा २० ओभर खेलेर दश विकेटको क्षतिमा ६६ रन बनाएको हो । थाइल्याण्डको पारीमा हेन्नो जोर्डन र फिरियापोङ् सुआनचुऐले सामान १३/१३ रनको योगदान दिनुभयो । उसको पारीका नौजना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । तीनजना ब्याट्सम्यान रन आउट हुन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा नौ रन खर्चेर एक विकेट लिनुभयो । करण केसी सबैभन्दा सफल बलर रहनुभयो । उहाँले मात्र १२ रन खर्चेर तीन विकेट लिनुभयो । अविनाश बोहराले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिदा पारस खडकाले दुई ओभर बलिङ गर्दा विकेटविहीन बनेपनि मात्र तीन रन खर्चिनुभयो । भुवन कार्कीले एक विकेट लिनुभयो ।

रासस


ताजा खबर