विश्वका कुनै पनि देशमा जाने नेपाली कामदारलाई केही समयकालागि श्रम स्वीकृति नदिने सरकारको निर्णय

कोरोनाभाइरसको सङ्क्रमण देखिएका विश्वका कुनै पनि देशमा जाने नेपाली कामदारलाई केही समयकालागि श्रम स्वीकृति नदिने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले बताएका छन्।

मन्त्री रामेश्वर राय यादवले कोरोनाभाइरसका कारण नेपाली कामदारलाई समस्या नपरोस् भनेर उनीहरुकै सुरक्षाकालागि यस्तो निर्णय गरिएको बताए।

उनले भने “केही समयका लागि श्रम स्वीकृति दिने काम स्थगन गरिएको छ। हाल यो एक/दुई सातासम्मका लागि हो र जुन जुन देशमा सङ्क्रमण फैलिएको छ, ती देशका लागि हो।”

उनले ती देशका नाम प्रस्ट खुलाएनन्।

सरकारले यसअघि दक्षिण कोरिया जाने कामदारहरूलाई तत्काल नपठाउने निर्णय गरेर उनीहरूलाई केही समयका लागि रोकेर राखेको छ।

दैनिक १ हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जानका लागि नेपाली कामदारले श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईँले हाल संस्थागत रूपमा १ सय १० वटा र व्यक्तिगत रूपमा १ सय ७१ वटा देशमा जानका लागि नेपाली कामदारलाई श्रम स्वीकृति दिने गरिएको बताए।

यसरी श्रम स्विकृति लिनेहरूमा साउदी अरेबिया, कतार, मलेशिया अनि अन्य खाडी देशमा जानेहरूको सङ्ख्या धेरै रहने गरेको बताइएको छ।

परराष्ट्र मन्त्रालयले पनि अतिआवश्यक कामबाहेक अन्य काममा विदेश नजान सबैलाई आग्रह गरेको छ।

सर्वोच्च अदालतले कोरोनाभाइरसको सङ्क्रमण विभिन्न देशमा देखापरिरहेका बेला आवश्यकता परे केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

यसबीच विश्वभरि कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको भन्दै नेपालका वायुसेवा सञ्चालकहरूले ज्वरो, रुघाखोकी लागेका यात्रुलाई हवाई यात्रा नगर्न अपिल गरेका छन्।

मङ्गलवार एक सूचना प्रकाशन गर्दै वायुसेवा सञ्चालक संघ, नेपालले उक्त अपिल गरेको हो।

“कोरोनाभाइरसको सम्वेदनशीलतालाई ध्यानमा राखी यात्रु तथा हवाईजहाजका चालक तथा अन्य क्रु (चालकदलका सदस्य)हरूको सुरक्षालाई मध्यनजर गर्दै ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका यात्रु महानुभावहरूलाई सकेसम्म हवाई यात्रा नगर्न यो संघ हार्दिक अपिल गर्दछ,” संघको सूचनामा उल्लेख छ।

साथै संघले “कथम्‌कदाचित् त्यस्ता महानुभावहरूले यात्रा गरेको पाइएको खण्डमा सम्बन्धित वायुसेवा कम्पनीहरूबाट आवश्यक निरीक्षण गर्दा शङ्का लागेमा त्यस्ता यात्रुहरूको उडान रद्द गर्नसक्ने” समेत उल्लेख गरेको छ। रासस


ताजा खबर