राष्ट्रिय वाणिज्य बैंकलाई उत्कृष्ट बनाएका कुशल बैंकर किरण श्रेष्ठ बने म्यानको अध्यक्ष

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अवस्थामा आमूल सुधार गरी निजी क्षेत्रका लागि समेत चुनौति बनाएर कुशल व्यवस्थापकको रुपमा स्थापित बैंकर किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष निर्वाचित भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठलाई मतदानबाट निर्वाचित सदस्यहरुको बहुमतले संघको अध्यक्ष चुनेको हो ।

उनी व्यवस्थापन संघको व्यक्तिगत तर्फबाट सदस्य पदमा चुनाव लडी सर्वाधिक भोट पाएर निर्वाचित भएका थिए ।

म्यानको विधानअनुसार सदस्यमा निर्वाचितहरुमध्येबाट अध्यक्ष र बाँकी पदाधिकारी चुन्नुपर्ने हुन्छ । यही प्रावधानअनुसार निर्वाचनबाट सदस्य बनेकाहरुको बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

म्यानले श्रेष्ठलाई यो पटकको म्यानेजर अफ दि इयरको अवार्डले समेत सम्मान गरेको थियो । उत्कृष्ट व्यवस्थापकको सम्मान पाएकै वर्ष श्रेष्ठले म्यानको अध्यक्ष बन्ने शौभाग्य पाएका हुन् ।

म्यानमा निर्वाचित सदस्यहरुको बैठकले अन्य पदाधिकारीको समेत टुंगो लगाएको छ । जसअनुसार संस्थागत सदस्यमा निर्वाचित राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र  प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, द्वीतीय उपाध्यक्षको रुपमा आइएमई समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन् । ग्लोबल आइएमई बैंकको संचालक समेत रहेका पोखरेल व्यक्तिगत तर्फबाट म्यानको सदस्यमा निर्वाचित भएका थिए ।

संघको महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएका छन् ।

म्यानको विधान अनुसार ११ जना व्यक्तिगत तर्फबाट सदस्यमा निर्वाचित हुनसक्छन् । ६ जना भने संस्थागतबाट सदस्य बन्न सक्छन् । व्यक्तिगत र संस्थागतबाट सदस्य बनेकाहरुले नै अध्यक्ष र अन्य पदाधिकारीको विषयमा टुंगो लगाउने गर्छन् ।


ताजा खबर