सगरमाथा संवादको पहिलो संस्करण स्थगित

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्वमा हालै देखिएको कोरोना भाईरसका कारण आगामी अप्रिल २ देखि ४ सम्म नेपालमा हुने भनिएको सगरमाथा संवादको पहिलो संस्करण स्थगन गरिएको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय सभा सम्मेलन हाललाई आयोजना नगरिने पनि जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले डब्लु एच ओले नेपाललगायत पाँचवटा देशलाई कोरोनाको उच्च जोखिममा राखेकोले नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्धनात्मक कार्यक्रम पनि स्थगित गरिएको बताउनुभयो ।

उहाँले अत्यावश्यक काम बाहेक कोरोना भाईरसको प्रभावित र जोखिम रहेका देशहरु भ्रमण नगर्न पनि सबै नागरिकलाई आग्रह गर्नुहुँदै विदेशवाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परिक्षणको प्रमाणपत्र प्रमाणित गरेर मात्रै आउन पाउने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण स्वास्थ्य उपकरण, औषधी, अत्यावश्यक वस्तु खाद्यान्न लगायतका वस्तुको अभाव हुन नदिन सरकारले पहलकदमी चालिसकेको पनि बताउनुभयो ।

उहाँले कोरिया लगायत अन्य मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई पनि हाललाई रोकेको जानकारी दिनुभयो । रासस


ताजा खबर