पार्टीभित्र विवाद भएको होइन, सामान्य छलफल र बहस भएको हो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र विवाद नभई सामान्य छलफल र बहस भएको बताउनु भएको छ ।

आज नेपाल प्रेस संगठन, चितवनले भरतपुर विमानास्थलमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उहांँले विवाद, बहस हुनु ठूलो बिषय नभएको बताउनु भएको हो ।

पत्रकारको जिज्ञासाको जवाफ दिदै अध्यक्ष प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको बिषयमा छलफल र बहस मात्र भएको भन्दै कुनै विवाद नभएको स्पष्ट पार्नुभयो ।

‘पार्टीभित्र केही न केही बहस र विवाद त भइराख्छ जबसम्म पार्टी रहिरहन्छ’ उहांँले भन्नुभयो । सचिवालयमा बसेको बैठकले सर्वसम्मत निर्णय भएको र आखिरमा यो समस्या हल हुने उहांँले बताउनुभयो ।

राष्ट्रियसभाको एउटा सिट खाली भएको भन्दै उहांँले बामदेव गौतम नै जाने जिकिर गर्नुभयो । ‘सर्वसम्मत गरेको निर्णयले प्रधानमन्त्रीले अवज्ञा गर्नुहुन्न भन्ने मलाई विश्वास छ । उहांँले सिफारिश गर्नुहुन्छ ।’ उहांँले भन्नुभयो, अब गर्नुहुन्न भन्ने बिषयमा म जानै चाहन्न ।’

वामदेवलाई प्रधानमन्त्री बनाउने बिषयमा बोल्दै उहांँले प्रधानमन्त्री बनाउने भन्ने बिषय प्रधानमन्त्रीको हातमा रहेको तर राष्ट्रियसभामा भन्ने वामदेव गौतम नै पक्का जाने उहांँले बताउनुभयो ।

सचिवालयका सदस्यहरु मध्ये बामदेव मात्रै संघीय सदस्य नभएको भन्दै उहांँले बामदेव हाल राष्ट्रियसभामा जान तयार रहेकोले लैजाने निर्णय गरिएको बताउनुभयो । ‘यसअघि वामदेवजी तयार हुनुभएन अहिले तयार हुनु भो लाने भइयो । कुरा सिधै छ । ’

पार्टीमा हराएको व्यक्तिलाई किन लैजाने भन्ने प्रश्नमा बोल्दै प्रचण्डले भन्नुभयो ,‘संसारभरिको इतिहासमा यस्तो हुन्छ, पहिला हराएका व्यक्तिलाई मैले धेरै अगाडि ल्याएर के के गरे त्यो हुन्छ । यसमा धेरै कारण रहेको उहांँको भनाई छ ।

व्यवसायीसंँग गोप्य बैठक गर्नुभएको प्रसंगमा बोल्दै प्रचण्डले आफूले कोहीसंँग पनि भेट नभएको र एकअर्कासँग भेटघाट हुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो । ‘मिडियामा आएको बिषय कपोलकल्पित, भ्रामक भएको भन्दै उहांँले भन्नुभयो , ‘कुनै बैठक बसेको , डिनर गरेको प्रमाणित गर्यो भने उसलाई बधाई भन्नेछु ।’ रासस


ताजा खबर