नेपाली धितोपत्र बजारमा अर्को रेकर्ड : पहिलो पटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर किनबेच

बुधबार नेपाली धितोपत्र बजारमा पहिलो पटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ ।

बुधबार १८० कम्पनीहरुका ३२ हजार १५४ पटकको कारोबारबाट ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयरको किनबेच भएको हो । बुधबार एकै दिनमा भएको यो कारेबार हालसम्मकै उच्च कारोबार रकम हो ।

यस अघि गत यसै साताको पहिलो कारोबार दिन अर्थात फागुन ११ गते नेप्सेले सर्वाधिक कारोबार रकमको रेकर्ड कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको शेयरको किनबेच भएको थियो ।

पछिल्लो समय नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । नेप्सेको यस वृद्धिलाई अहिले बजारमा ‘अप्राकृतिक’ हो कि भन्ने आशंका गर्न थालिएको छ । सोही कारण अहिले बजारमा लगानी गर्नुअघि सचेत हुनुपर्ने जानकारहरु बताउँछन् ।

लामो समय ओरालो लागेको बजारमा अहिले बुलिश ट्रेण्ड शुरु भएको लगानीकर्ताको भनाइ छ ।

बुधबार कारोबार रकमले नयाँ इतिहास कायम गर्दा नेप्से परिसूचक ५०.९३ अंक बढेर एक हजार ५९६.१३ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ९.४९ अंकले बढेर ३३६.०५ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । रासस


ताजा खबर