एन्फाद्वारा सरस्वतीका कप्तानमाथि दुई वर्षको प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिग खेलको क्रममा अनुशासन विपरित कार्य गर्ने खेलाडी तथा प्रशिक्षकमाथि कारबाही गरेको छ । एन्फाको कारबाहीमा पर्नेमा सरस्वती क्लबका कप्तान, हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक र टोली प्रबन्धक रहेका छन् ।

एन्फाले प्रेस विज्ञप्ती जारी गरी अनुशासन समितिको बैठकले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठमाथि पचास हजार रुपियाँ जरिवाना र दुईवर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । फागुन २ गते दशरथ रङ्शालामा हिमालयन शेर्पा र सरस्वतीबीचको खेल सम्पन्न भए लगत्तै दुबै टोलीका खेलाडी एक आपसमा भिडेका थिए । एन्फाले कप्तान श्रेष्ठले प्रतियोगिता नियमावली २१(७) विपरित कार्य गरेकोले उक्त जरिवाना र एन्फाले सञ्चालन गर्ने वा स्वीकृतिमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी नहुने गरी प्रतिबन्ध लगाइएको जनाएको छ ।

एन्फाका महासचिब इन्द्रमान तुलाधरले हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेतलाई एक पटकको लागि सुध्रने मौक दिइएको जानकारी दिनुभयो । शेर्पाकै टोली प्रबन्धक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । एन्फाले आजै तीनैजनालाई पत्राचार गरी कारबाहीको जानकारी गराएको महासचिब तुलाधरले जानकारी दिनुभयो । रासस


ताजा खबर