राष्ट्रिय जनजीवनमा महत्वपूर्ण योगदान दिने ६ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले राष्ट्रिय जनजीवनमा महत्वपूर्ण योगदान दिने ६ जनालाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारका राशि जनही साठी हजार रुपैयाँ रहेका छन् ।

त्यसै गरी काठमाडौं उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका श्रीमती दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्गता रहेर पनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी श्री सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी तीनै पुरस्कारका राशी जनही पचास हजार रुपैयाँ रहेका छन् । मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपैयाँ राशीको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिनेछन् । रासस


ताजा खबर