वीरअस्पतालमा भित्रियो इन्ट्रा अपरेटिभ सिटी स्क्यान मेसिन : बिरामीलाई सहज

एक महिना अघिसम्म ब्रेन ट्युमरको शल्यक्रिया वीर अस्पतालमा निकै झन्झटिलो थियो। शल्यक्रियाको पूर्वतयारी निकै लामो हुने गर्थ्यो।

सबैभन्दा पहिले सिटी स्क्यान गरेर रोग पत्ता लगाउनु पथ्र्यो। त्यसपछि शल्यक्रिया अनि पोस्ट हबमा बिरामीलाई राख्नु पर्थ्यो। त्यसको एक/दुई दिनपछि पुनः सिटी स्क्यान गरेपछि मात्र ट्युमरको अवस्था थाहा हुन्थ्यो। यसमा बिरामी र चिकित्सक दुवैले लामो समय खर्चनुपर्ने बाध्यता थियो। तर अब यो झन्झटिलो प्रक्रियाबाट बिरामी र चिकित्सक दुवैले छुटकारा पाएका छन्।

मुलुककै पुरानो अस्पताल वीरले नयाँ उपकरण इन्ट्रा अपरेटिभ सिटी स्क्यान भित्र्याएसँगै बिरामी र चिकित्सक दुवैलाई सहजता मिलेको छ। बिरामीको ब्रेन ट्युमरको अपरेसन गर्नु छ भने लामो पूर्व तयारी गर्नु पर्दैन।

यो उपकरण शल्यक्रिया कोठामै राखिन्छ। जुन शल्यक्रियाकै क्रममा बिरामीको ट्युमर कुन ठाउँमा छ र कति निस्कियो भनेर हेर्न मिल्छ। पहिले जस्तो एक दुई दिन पर्खनु नपर्ने अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्राडा प्रकाश विष्टले बताए।

उनले भने, ‘पहिले निकै झन्झटिलो र लामो प्रक्रिया थियो। कति ट्युमर निस्कियो, निस्किएन भनेर थाहा पाउन एक/दुई दिन पर्खनु पर्थ्यो। तर अहिले अपरेसन गर्दागर्दै हेर्न सकिन्छ।’

इन्ट्रा अपरेटिभ सिटी स्क्यानको माध्यमबाट ट्युमर कति छ, कुन भागमा छ, कति गहिराइमा छ, आकार कति ठूलो छ, पूरै ट्युमर निस्कियो या निस्किएन यी सबै एकै समयमा थाहा पाउन सकिन्छ। बुझ्ने भाषामा भन्नुपर्दा इन्टा अपरेटिभ सिटी स्क्यानको माध्यमबाट जुन ठाउँमा समस्या हो, त्यही पुग्न सकिन्छ।

यो प्रविधि नेपालमा पहिलो पटक वीर अस्पतालले भित्र्याएको हो। २०७५ सालको वैशाखमा यो प्रविधि भित्र्याए पनि अस्पतालले प्राविधिक कारण सेवा नियमित रुपमा सुरु गर्न सकेको थिएन। तर एक महिनादेखि सेवा नियमित भएको विष्टले जानकारी दिए। हालसम्म अस्पतालले ४० वटा शल्यक्रिया गरिसकेको छ।

मस्तिष्कजन्य रोग, मेरुदन्ड, बिग्रिएको अनुहार मिलाउने, कृत्रिम नितम्ब र घुँडा राख्न गरिने शल्यक्रियाका लागि यो उपकरण प्रयोग हुन्छ। उक्त प्रविधि भित्रिएसँगै शल्यक्रियाको समय घटेको र गुणस्तर बढेको उनले बताए।

यसमा चिकित्सकीय गल्ती र शल्यक्रियाका क्रममा निम्तने जटिलता अत्यन्त कम हुने उनले बताए। पहिले अनुमानको भरमा शल्यक्रिया गर्नुपरेको बताउँदै उनले भने, ‘अहिले जुन ठाउँमा समस्या छ, त्यहीं पुग्न सकिन्छ। यसमा गल्ती हुने सम्भावना अत्यन्तै कम हुन्छ। यसको सबैभन्दा प्रभावकारी पक्ष भनेको यही हो।’

डा विष्टका अनुसार पहिले अनुमानका भरमा शल्यक्रिया हुन्थ्यो। अहिले यकिनका साथ समस्या पहिचान गरी शल्यक्रिया हुन्छ। यसले आफूहरुलाई सहज भएको उनको भनाइ छ।

‘पहिलो राम्रोसँग गरियो/गरिएन, पूरै ट्युमर हट्यो/हटेन भन्ने हुन्थ्यो,’ उनले भने, ‘अनुमानका भरमा अपरेसन गर्नुपर्दा टाउकोमा घाउ पनि ठूलो बनाउनुपर्थ्यो। तर अहिले सहज भएको छ।’

उनका अनुसार अहिले जुन ठाउँमा ट्युमर छ, त्यही ठाउँमा सानो घाउ बनाएर अपरेसन गर्न सकिन्छ। यसले मस्तिष्कमा असर पुग्ने सम्भावना कम भएको उनले बताए। उनका अनुसार अपरेसनपश्चात् हुनसक्ने क्षतिहरु कम भएर गयो। शल्यक्रियाका लागि गरिने तयारीको समय पनि घट्यो।

इन्टा अपरेटिभ सिटी स्क्यानको माध्यमबाट उपचार गर्न बिरामीले बढी ६०/६५ हजार रुपैयाँ खर्चनुपर्ने अस्पतालले जनाएको छ। तर रकम तिर्न नसक्ने बिरामीको उपचार अस्पतालले निःशुल्क रुपमा गर्ने व्यवस्था छ।

उनले भने, ‘अपरेसन चार्ज, औषधि सबै गरेर धेरैमा ६०/६५ हजार खर्च हुन्छ। तर पैसा तिर्न नसक्ने बिरामीलाई अस्पतालले निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था पनि छ।’


ताजा खबर