खप्तड गोल्डकप : गोर्खा ब्वाइज अन्तिम आठमा

गोर्खा ब्वाइज, रुपन्देही सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम आठमा अटाएको छ । सोमबार धनगढीस्थित क्षेत्रीय रङ्शालामा भएको खेलमा गोर्खा ब्वाइजले रुपन्देहीकै सुनौलो संगम युवा क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित सयममा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा गोर्खा ब्वाइजको तर्फबाट कप्तान उत्तम गुरुङ, हरि कठायत, अनिश तामाङ, रन्दीप पौडेल र निशान न्यौपानेले गोल गर्नुभयो । सुनौलो संगमको तर्फबाट रञ्जित थापा, अजित थापा र शङ्कर राईले गोल गर्नुभयो । सुनौलोका कप्तान मोहन थापाको प्रहारलाई भने गोर्खा ब्वाइजका गोल रक्षक मनोज गुरुङले उत्कृष्ट बचाव गर्नुभयो ।

यसअघि, दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा गोर्खा ब्वाइजले सुनौलो संगमलाई दबाबमा राख्न सफल भए पनि गोल भने गर्न सकेन । प्रतियोगितामा सुनौलो संगमका कप्तान मोहनको प्रहारलाई गोल हुनबाट जोगाउनु भएका गोर्खा ब्वाइजका गोलरक्षक मनोज म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । यो खेलसंगै क्वार्टर फाइनलको समीकरण पूरा भएको छ । मङ्गलबार आयोजक सुदूरपश्चिम–११ र भारतको कञ्चनजङ्घा एफसीबीच क्वार्टर फाइनलको पहिलो खेल हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जानकारी दिएको छ । यो प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ । रासस


ताजा खबर