अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला हुदैँ

“महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पुरा” भन्ने नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठि आयोजना हुने भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकार आयोगको संयुक्त आयोजना तथा दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको सहआयोजनामा २०७७ साल जेठ १३ १४ र १५ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मर्यादित कार्यशाला गोष्ठी संसारकै पहिलो हो ।

उक्त कार्यशाला गोष्ठीमा झण्डै २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताहरु सहभागी हुनेछन् ।

गोष्ठीको मुख्य उद्देश्य भनेको महिनावारीका सम्बन्धमा रहेको कुरिती तथा अन्धविश्वासलाई परिवर्तन गर्नु रहेको छ ।

कार्यशाला गोष्ठीमा महिनावारीका बिभिन्न पक्षहरु भन्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक र प्रजनन स्वास्थ्य अधिकार, पहिलो महिनावारीदेखि महिनावारी रोकिनेसम्मका लाज, बिभेद, युवाहरुको भूमिका, धर्म, व्यवसाय, खानेपानी, सरसफाई, नीति र जवाफदेहिता बहिष्करणमा परेका र परिएकाहरुको अवस्था, अधिकार, अनुसन्धान र अनुदान कार्यन्वयनको अवस्था आदिमा छलफल हुनेछ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसा विरुद्धको विशेष अभियान अन्र्तत आयोजना हुन लागेको अन्तर्राष्ट्रि मर्यादित महिनावारी कार्यशाला महिनावारीसँग जोडिएको छाउपडीलगायतका कुरिती र नकारात्मक अभ्यासहरु उन्मुलन गर्न महत्वपूर्ण हुने बताउनुभयो ।

देशमा बिभिन्न रुपमा रहेको छाउपडी प्रथा र छाउगोठ एउटा कुरीति हो भन्दै मन्त्री गुरुङले मानिसको मनमस्तिष्कबाट नै यो प्रथाको अन्त्य गर्न जगरण ल्याउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख महिला विकास अधिकृत अन्जु ढुङ्गानाले नेपाललाई मर्यादित महिनावारीको देश बनाउन तीन दिवसीय अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गर्न लागिएको र छाउँ तथा महिनावारी प्राकृतिक विषय भएकाले यस कार्यशालाले छाउ प्रथा लगायतका कुसस्कार अन्त्यका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

अन्तराष्ट्रिय कार्याशाला गोष्ठिको सह आयोजक एवं दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संस्थापक राधा पौडेलले हरेक व्यक्तिले महिनावारी भएका बेला मर्यादापूर्वक जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले छाउ प्रथाको अन्त्यका लागि बिशेष अभियान सञ्चालन गरेर, कर्णाली र सुदुर पश्चिममा छाउगोठ भत्काउने, छाउ तथा महिनावारी प्राकृतिक र जैविक बिषय हो भन्दै छाउ हँुदा छोइएर केही हुदैन भन्ने जस्ता सामाजिक सचेतनामा कार्यक्रमहरु गरिरहेको छ । रासस


ताजा खबर