महिनावारीमा तल्लो पेटको दुखाई र यसको उपचार : डा. ममता बराल

महिनावारी हुने बेलामा धेरै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ।

प्रायःकिशोरीहरूमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन।

महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तस्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तस्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।

सुरूमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ।

कतिपय आमाहरूले आफ्ना छोरी लिएर आउनुहुन्छ चार महिना भयो महिनावारी भएको छैन अनि कतिपय आउनुहुन्छ एक महिनादेखि रक्तस्राव भइरहेको छ भनेर।

यदि महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तस्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।

यस्तो बेलामा थाइराइडको समस्या छ कि छैनरु भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। कुनै किशोरी धेरै रक्तस्राव भयो भनेर आउँछन् त्यस्तो बेलामा उनीहरूको हेमोग्लोबिन अर्थात् शरीरमा रगतको मात्रा कम भइसकेको हुन्छ। यस्तो हुनुको कारण उनीहरूसँग यसको आवश्यक ज्ञान र बुझाइ कमजोर भएर नै हो।

यदि ४–५ दिनभन्दा बढी समयदेखि लगातार रक्तस्राव भइरहेको छ, दैनिक ३–४ वटाभन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराइ आवश्यक परामर्श लिनु जरूरी हुन्छ।

कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा विशेषज्ञ चिकित्सक नभए पनि उपलव्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।

किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तस्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबिनको मात्रा कम भइ समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने जोखिम हुन्छ।

महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्दैन।

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। यस्तो बेलामा किशोरीहरू धेरै पेट दुख्ने समस्या लिएर आउने गरेका छन्। किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन। डिम्बाशयमा अण्डा बनेर फुट्ने क्रम चलिरहेको कारणले गर्दा पेट दुख्छ। जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरू हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ।

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ,त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन। अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइँदैन।

त्यसका लागि बेलेमै विशेष चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा सुरूका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या भयो र रक्तस्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो। त्यस्तो अवस्थामा तुरुन्तै विशेषज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ।

मोटोपना र दुप्लोपना दुवै समस्या
धेरै मोटोपना र दुव्लोपनाका कारणले पनि महिनावारी नियमित नहुने समस्या हुन्छ। यस्ता समस्या भए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्दछ। हिजो आज यस्तो समस्या सामान्य भइसकेको छ। खासगरी अस्वस्थकर खानपान, नियमित व्यायामको कमी, निष्क्रिय जीवनशैली जस्ता कारणले पनि किशोरीहरूमा मोटोपनाको समस्या बढेको पाइन्छ।

शरीरका लागि धेरै मोटोपना र दुव्लोपना हुँदा महिनावारीका बेलामा समस्या हुन सक्छ। यस्तो अवस्थामा थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनु आवश्यक हुन्छ।

सरसफाइको अभाव
खासगरी महिनावारीका समयमा किशोरीहरूले आफ्नो सरसफाइमा विशेष ध्यान नदिँदा विभिन्न समस्याहरू निम्तने गर्छ। महिनावारीको समयमा गुणस्तरयुक्त स्यानिटरी प्याड प्रयोग गर्नु अनिवार्य मानिन्छ।

तर हाम्रो आर्थिक अवस्था, सहज पहुँचको अभाव, र चेतनाको कमी, लाज मान्ने प्रवृति जस्ता कारणले कतिपय किशोरीले यस्तो अवस्थामा आफ्नो सरसफाइमा त्यति ध्यान दिएको पाइँदैन।

महिनावारीका समयमा आफ्नो सरसफाइमा विशेष ध्यान नदिएकै कारण धेरै जसोमा संक्रमण भइ पाठेघरसम्म फैलिने र त्यसले बाँझोपनको समेत समस्या ल्याउने खतरा हुन्छ।

गाँउतिर जस्तो पायो त्यस्तै कपडा र पुरानो टालोलाई प्याडको रूपमा प्रयोग गर्ने चलन छ। त्यसैले हाम्रा सम्पर्कमा आउने ग्रामीण भेगका अधिकांश महिलामा परीक्षण गर्दा पाठेघरको संक्रमण भएको हुन्छ।

जसमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, फोहर पानी बग्ने र योनी चिलाउने समस्या हुन्छ। यस्तो लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श लिएर आवश्यक चेकजाँच गराउनुपर्दछ।

त्यसैले महिनावारी हुँदा आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ। गुप्ताङ्गको सरसफाइ गर्दा सकभर केमीकलयुक्त साबुन, डिटोल लगायतको प्रयोग नगर्नु राम्रो। सफा पानीले मात्र सरसफाइ गर्दा राम्रो हुन्छ। यस्तो बेलामा हरेक चार घण्टामा प्याड परिवर्तन गर्नुपर्छ र सफा राख्नुपर्छ।

महिनावारीको समयमा के गर्ने रु के नगर्ने ?

कतिपय मुलुकमा महिनावारीका समयमा कामकाजी महिलालाई बिदा दिने समेत चलन छ, केही विकसित मुलुकमा कतिपय कम्पनीहरूले महिनावारीका समयमा महिलालाई अनिवार्य विदा दिनेगरी (पिरियड पोलिसी) समेत बनाएका छन्। त्यसैले महिनावारीको समय आराम गर्ने समय हो। यस्तो अवस्थामा सरसफाइमा अन्य बेला भन्दा बढी ध्यान दिनुपर्छ भने रक्तस्राव हुँदा कमजोर हुने भएकाले यस्तो बेला पोषणयुक्त खाना समेत खान जरूरी हुन्छ।

यो समयमा पीडा बढी भयो भने स्वास्थ्य परीक्षण गर्नुपर्छ। शरीरमा रगतको मात्रा कमी हुन दिनु हुँदैन।

किशोर अवस्थामा महिनावारी हुँदै पीडा हुन्थेन तर, पौढ अवस्थामा पीडा हुन थाल्यो भने त्यो नराम्रो संकेत हो। यो अवस्थामा पाठेघरमा ट्यूमर भएर पनि महिनावारीका बेला बढी पीडा हुनसक्छ।

(डा. बराल काठमाडौं चाबहिलस्थित ॐ अस्पतालमा स्त्री तथा प्रसुती बिशेषज्ञ हुनुहुन्छ ।)


ताजा खबर