‘बैंकमा नेतृत्व तहमा जानकालागि निकैनै अनुभव चाहिन्छ’ : बैंङ्कर अनुपमा खुञ्जेली

नेपाली बैंकिङ्ग क्षेत्रमा महिलाले नेतृत्व गरेको एकमात्र बैंक हो मेगा वैंक । ३० वर्षे बैंकिङ्ग क्षेत्रमा आफूलाई सक्रिय तुल्याउनु भएकी एक कुशल महिला वैकको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व लिईरहनु भएको छ । उनै सक्रिय, कुशल र नेपालको वैकिङ्ग इतिहासमा आफूलाई स्थापित गर्न सफल बैंङ्कर अनुपमा खुञ्जेलीसँग वर्तमान  बैंकिङ्ग क्षेत्रको अवस्थाका बारेमा  सफल नेपालले गरेको कुराकानीको  सम्पादित अंश :

नेपालको बैंकिङ्ग क्षेत्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा छ नि सत्य हो ?
मेरो ३० वर्षे बैंकिङ्ग अनुभवमा सबै खालको उचारचढाब हेरेको छु । नेपालको अन्य आन्तरिक एवं राजनीति क्षेत्र अस्थिर भएको अवस्थामा पनि बैंकिङ्ग क्षेत्र भने तुलनात्मक रुपले स्थिर रहँदै आएको भन्न सकिन्छ । यो हुनुमा राष्ट्र बैंक पनि एउटा कारण हो । बैंकिङ्ग क्षेत्रलाई सबै भन्दा नजिकबाट अनुगमन गर्ने राष्ट्र बैंकले नियमित र प्रभावकारी ढंगले अनुगमन गरेको कारण यो सम्भव भएको हो । देशको बजेट अनुसारको नीति ल्याएर बैंकिङ्ग क्षेत्रलाई सोही नीति अनुसार अगाडि बढाउनु पर्दछ । नेपालको बैंकिङ्ग क्षेत्र बिग्रँदो अवस्थामा छैन । यदि नेपालमा सबै भन्दा पारदर्शी क्षेत्र बैंकिङ्ग नै हो ।

बैंकिङ्ग क्षेत्र खस्कँदै गएको चर्चा त छ नि ?
चर्चा त जे गर्न पनि पाईन्छ । तर वास्तवमा हेर्ने हो भने विगतको भन्दा अहिले बैंकिङ्ग क्षेत्र निकै नै सबल एवं प्रभावकारी भएको छ चाहे त्यो शाखा विस्तारको आधारमा होस्, सेवा सुविधाको विविधतामा होस्, बैंकिङ्ग पँहुचको विकासमा होस या प्रविधिको उपयोगितामा होस् । तर हो, दायरा एवं गतिविधिहरुको विकाससंगै बैंकहरुलाई सबल बनाउनका लागि धेरै पक्षहरु छन् त्यसका लागि हामीले मेहनत गर्नु पर्दछ । मलाई लाग्छ, त्यही मेहनतले नै हामीलाई आजको अवस्थासम्म ल्याई पुर्याएको हो ।

तरलताको कुराले पनि समस्याका कुरा आउँछ नि ?
विगतको अवस्थालाई तुलना गरेर हुँदैन । त्यसमाथि तरलता भनेको बैंकिङ्ग क्षेत्रमा मात्र नीहित हुने विषय होइन । अहिले बजारको अवस्था भिन्न छ । अहिले बचतमा ६ प्रतिशत ब्याजदर छ भने मुद्दतीमा ९.७५ प्रतिशत पुगेको छ । निक्षेपको कुरा गर्ने हो भने हरेक वर्ष २०÷२२ प्रतिशतले वृद्धि हुँदै गईरहेको छ । अर्थतन्त्रमा यो सानो कुरा होइन । ८.५ प्रतिशतले जिडिपी वृद्धि गर्ने लक्ष्य छ सोही लक्ष्य हासिल गर्न सरकारले काम गरिरहेको छ । सातै प्रदेशमा बजेट गईसकेको छ भने हामीले पनि त्यही अनुरुप काम गरिरहेका छौं । यसप्रति सबै सचेत भएकाले समस्या आउने कुरा छैन । त्यसकारण पनि हामीले भनिरहेका छौं सरकारले विकास बजेट प्रत्येक चौमासिक रुपमा खर्च गर्नु प¥यो । अब प्रादेशिक सरकार आईसकेकोले त्यसमा पनि परिवर्तन पक्कै देखिन्छ होला । विदेशबाट लगानी भित्र्याउन पाउने भन्ने कुरा पनि खुल्ला भईसकेको छ । यी सबै कुराहरुले गर्दा श्रोतहरुलाई आन्तरिक परिचालन गर्न बाटो खुलिसकेका कारण सहज छ तर समय लाग्न सक्छ ।

तर, बैंकहरुले बढी नाफा आर्जन गर्नका लागि अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् भन्ने आरोप त राष्ट्र बैंककै छ नि त ?
नेपाल राष्ट्र बैंकले उत्पादक क्षेत्रमा लगानी गर्नका लागि निश्चित प्रतिशत छुट्याएको छ । त्यो सबै बैंकहरुले पूरा गर्नै पर्छ । कृषि, उर्जा, पर्यटन क्षेत्रमा लगानीको न्यूनतम प्रतिशत तोकिएकोले उत्पादक क्षेत्रमा लगानी भएको छैन भनेर भन्न मिल्दैन । त्यसै गरी अनुत्पादक भनिएका केही क्षेत्रहरुमा पनि अधिकतम सीमा तोकिएकै छ । सबै बैंकहरुले राष्ट्र बैंकको नीति नियम पालना गर्न सिन्सियर भएरै लागेका हुन्छन् र सोही बमोजिम योजनाहरु तर्जुमा गर्छन् ।

पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रमा साइबर सुरक्षाको चुनौति बढ्दै गएको देखिन्छ नी ?

नेपालका अधिकांश वाणिज्य बैंकहरुले अन्तर्राष्ट्रिय प्रविधि ल्याएर कारोबार सञ्चालन गर्दै आएका छन् । पैसा तिररे प्रविधि ल्याउनुको कारण नै सुरक्षाका लागि हो र बैंकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा दिन सकौं भन्ने भएर नै हो । तर चोरी गर्ने व्यक्ति दुई कदम अगाडि हुन्छ भन्ने भनाई छ त्यस्तै देखियो । नेपालको केही कमजोरी देखेर नै ह्याकर यहाँको सिष्टम ह्याक गर्न खोजेका हुन् । नेपाल मात्र होइन, जर्मनी लगायतका भारतसम्म पनि यस्ता ह्याकिङ्गका कुराहरु हुने गर्दछन् । त्यहाँ पनि सिष्टमको कमी त होइन होला । तर हामीले साइवर सुरक्षामा अझै मजबुत हुनु पर्दछ भन्ने कुरामा दुईमत छैन । यस प्रति हामी सचेत हुनु आवश्यक छ ।

जसरी हामी प्रविधिमैत्री बनेका छौं त्यस अनुरुप सुरक्षाका लागि जनशक्ति कमी छ भन्नु खोज्नु भएको हो ?
जनशक्ति नभएको होइन । यसलाई अझ प्रभावकारी बनाउनु पर्दछ भन्ने हो । हामीसँग दक्ष जनशक्ति भएकै कारणले भिषा कार्ड, मास्टर कार्ड, मोवाईल बैंकिङ्ग जस्ता अन्तर्राष्ट्रिय स्तरका हरेक सेवाहरु दिईरहेका छौं । तर हामीले यसलाई बढी सुरक्षित गर्नका लागि जनशक्तिमा पनि बढी लगानी गरेर जानु पर्दछ ।

वाणिज्य बैंकहरु ग्राहक तान्ने होडबाजीमा ब्याजदरमा वृद्धि गर्दै अस्वस्थ प्रतिष्पर्धामा लागिरहेका छन् । जसले बैंक बैंक बीच नै समस्या देखियो भन्ने आशंका छ नि ?
पछिल्लो एक वर्षको समय हेर्ने हो भने ब्याज बढी दिएर ग्राहक तान्ने समस्याबाट हामी बाहिर निस्किसकेका छौं । अहिले सबै बैंकको ब्याजदर करीब ९.७५ भन्दा बढी छैन । त्यसकारण ब्याजदरमा नै लडेर जानु पर्ने अवस्था छैन । विगत ३ वर्षको अवस्था हेर्ने हो भने आशंका गर्ने ठाउँ प्रशस्त छ । तर सकारात्मक सोच भएन भने अगाडि बढ्नलाई धेरै नै गाह्रो हुन्छ ।

बैंकहरु समस्यामा परेका कारण अस्वस्थ प्रतिपर्धा भएका कारण पनि मर्जर प्रक्रियामा जान राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दवाव दिएको छ भन्छन् नि, हो ?
राष्ट्र बैंक मात्र होइन विश्व बैंकले पनि भनिरहेको कुरा सुनिन्छ । नेपालको आर्थिक अवस्थालाई हेर्ने हो भने १४÷१५ वटा वाणिज्य बैंकहरु भए पुग्छ तर धेरै भएकाले यो प्रतिष्पर्धा भएको हो भन्ने गरिन्छ । संकट आएका कारण मर्जमा गएर समस्या समाधान हुन्छ भन्ने कुरा होइन ।

बाहिर चर्चा हुने गर्दछ राष्ट्र बैंक र वाणिज्य बैंक बीचका विवादहरु किन हुन्छ त्यस्तो ?
नेपाल राष्ट्र बैंक भनेको हाम्रो माउ संस्था हो । हामीलाई लाईसेन्स दिनेदेखि खारेज गर्नेसम्मको अधिकार बोकेको संस्था हो । हाम्रो अनुगम र नियमन गर्ने संस्थासँग हाम्रो कुनै पनि विवाद हुँदै होइन । कहिलेकाँही ल्याइएका नीति, योजनाहरुमा बैंकर्स एशोसिएनले केही नयाँ अवधारणा, सुझाव र योजना दिनु जायज नै हो ।

नेपालमा महिलाहरुले बैंकको नेतृत्व लिएको कमै पाईन्छ, कत्तिको सहज छ महिलालाई ?
आफ्नो अनुभव र टिमले नेतृत्व लिन निकै नै सहज बनाउँछ । बैंकको बोर्डको सहयोग हुनै पर्छ किनकी त्यसको महत्वपूर्ण भूमिका हुन्छ । बोर्डले नीति बनाउने काम गर्दछ भने प्रमुख कार्यकारीले कार्यान्वयन गर्ने काम गर्दछ । त्यसकारण यी दुई चीजको बीचमा बसेर काम गर्नु पर्ने भएकाले महिलालाई पक्कै पनि चुनौति त छन् । तर बोर्डमा एक जना महिला अनिवार्य हुनु पर्दछ भन्ने नियमले पनि सहज गराएको छ । तर हामीले बोर्डमा पनि महिला पाउन निकै मुश्किल पर्दछ । तर अहिलेको समयमा महिला पुरुष भने हुँदैन । त्यसमाथि प्रोफेसनल अर्गनाइजेसनमा त सिस्टम चल्ने हो र सिस्टमले महिला पुरुष भन्दैन ।

तर महिलालाई त्यस्तो ठाउँमा पुग्नै दिँदैनन् नि त ?
हो, महिला नेतृत्व तहमा पुग्नै गाह्रो छ । नेपाल जस्तो अल्पविकसित देशहरुमा लैङ्गिक समानताको कुरा निकै नै गाह्रो छ । तर यसलाई चिर्दै जानु पर्दछ भन्ने हो । तर नेपालको वाणिज्य बैंकहरुको तथ्यांक हेर्ने हो भने ४८ प्रतिशत महिलाहरु सहभागि हुनु हुन्छ । मेगा बैंकमा नै उच्च तहमा ४२ प्रतिशत महिलाहरुले काम गरिरहेका छन् । भोलीका दिनमा बैंकिङ्ग क्षेत्रको नेतृत्व लिने महिलाहरुको संख्खा बढ्नु पर्दछ र बढ्छ भन्नेमा म विश्वत छँु ।

 तपाँईलाई बैंकिङ्ग क्षेत्र छाडेर अन्य पेशा अपनाऊँ भन्ने सोच आयो कि आएन ?
बैंकमा जागिर खाएदेखि नै खल्तीमा राजीनामा बोकेर हिँडेको मान्छे हो म । बैंकिङ्ग क्षेत्रमा उतारचढाव हुन्छ । चुनौतिहरु धेरै छन् । त्यसकारण पनि जागिर छाडेर बसौं भन्ने अवस्था आउँछ आउँछ । तर आफ्नो पेशामा धैर्य हुनु पर्दछ र कडा मेहनत गर्नु पर्दछ, सफल भईन्छ । नेतृत्व तहमा जानका लागि निकै नै अनुभव चाहिन्छ । र आफुमा आत्मविश्वास हुनु पर्दछ ।



ताजा खबर