निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाऔँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा र यसको सफल कार्यान्वयनबाट देशलाई अघि बढाउन जनमत प्रतिबिम्वित हुने निर्वाचन आवश्यक भएकोे बताउनुभएकोछ ।

निर्वाचन दिवसका अवसरमा कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आज आयोजित बिशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचन हाम्रो सामाजिक जीवन पद्धती र अभ्यास भएकाले निर्वाचनलाई सकेसम्म कम खर्चिलोका साथै स्वच्छ, निश्पक्ष र विश्वसनिय बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको भावना प्रकट हुने प्रणाली लोकतन्त्र र लोकतन्त्रको पूर्वशर्त निर्वाचन भएकाले निर्वाचनमा धाँधली नहुने सुनिश्चितता आवश्यक रहेकोमा जोडदिनुभयो ।

प्रधानमन्त्री ओलीले आयोगले निश्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्न सकेकोमा आयोगको सह्राना समते गर्नुभयो ।

आम जनताले अनुभूत गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने संकल्पका साथ सरकार अघि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको आकांक्षा प्रतिविम्बित हुने र समग्रतामा मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन र नागरिक शिक्षामा जोडदिदै निर्वाचनमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर आयोगले तेस्रो रणनीतिक योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले आजदेखि मतदान केन्द्र पुनरावलोकन र मतदातानामावली अद्यावधिक विशेष अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।  रासस


ताजा खबर