स्टार अस्पताललाई सुपरस्पेसालिटी अस्पतालका रुपमा विकास गर्दैछौं : किशोरकुमार महर्जन

ललितपुरको सानेपामा अवस्थित स्टार अस्पतालले नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको छ। नयाँ व्यवस्थापनपछि अस्पतालको अध्यक्षमा ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका किशोरकुमार महर्जन आएका छन्। महर्जनसँग अस्पतालको विकास, विस्तार, चुनौती लगायतका विषयमा गरिएको  सफल कुराकानी :

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताउनुभएको तपाईंको यात्रा अस्पतालतर्फ कसरी आयो?
हामी महर्जनहरुको ज्यापु समाज भन्ने छ। यो समाजमा झन्डै ४० हजारभन्दा बढी सदस्य छन्। त्यो समाजमा सिनियर बैंकरका हिसाबमा सल्लाहकारका रुपमा थिएँ। यो समाजले बैंकिङ, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने भनेर योजना बनाएको थियो। भिजन २०–२० भनेर उहाँहरुले यी तीन क्षेत्रमा काम गर्ने योजना बनाउनुभएको हो। त्यही योजनाअनुसार फाइनान्स र स्वास्थ्यतर्फ अस्पताल क्षेत्रमा प्रवेश गरिएको हो। उहाँहरुले बैंकिङ क्षेत्रमा काम गरेको अनुभवका आधारमा मलाई फाइनान्सको अध्यक्ष बनाउनुभयो। त्यसपछि अस्पतालतर्फको काम पनि अगाडि बढ्यो। नयाँ अस्पतालको लाइसेन्स नपाउने रहेछ। मेरो श्रीमती स्टार अस्पतालमा काम गर्थिन्। उनले अस्पतालको गुडविल राम्रो छ तर पूँजीगत समस्या छ भन्ने जानकारी दिइन्। त्यसपछि समाजमा यो विषयमा कुरा भयो। त्यसपछि हामीले यो अस्पतालमा सेयर किन्ने प्रस्ताव राख्यौं। उहाँहरु पनि सकारात्मक हुनुभयो। हामीले ५१ प्रतिशत सेयर लिएर यो क्षेत्रमा प्रवेश गरेका हौं। अस्पतालको सेयर किन्नुअघि हामीले यो अस्पतालका विषयमा छुट्टै अध्ययन पनि गरेका थियौं। मलाई उहाँहरुले बैंकिङ क्षेत्रको नेतृत्व गरिसक्नुभएको छ, अब अस्पतालको पनि नेतृत्व गर्नुपर्यो भन्ने प्रस्ताव गर्नुभयो। त्यसपछि मैले केही समय सोचेर र निश्चित योजना बनाएर यहाँको जिम्मेवारी सम्हालेको हुँ।

अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि कस्तो पाउनुभयो? बैंकिङ क्षेत्र र यो क्षेत्रमा कत्तिको फरक रहेछ?
३३ वर्ष बैंकिङ क्षेत्रमा काम गर्दा विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो। त्यो क्रममा स्वास्थ्य क्षेत्रका प्रोजेक्टहरुमा पनि काम गर्न पाइएको थियो। बैंकरका हिसाबमा कुनै पनि प्रोजेक्ट फाइनल गर्नुभन्दा अगाडि विभिन्न कुराको जाँच तथा परीक्षण गर्ने गर्थें। अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ऋण दिने क्रममा धेरै अध्ययन गरेको थिएँ। त्यो हिसाबले मलाई यो क्षेत्र विल्कुलै नयाँ त लागेन। यसको मतलब सबै कुराको जानकारी छ भन्न खोजेको पनि होइन। मलाई अस्पतालभित्र काम गर्ने जनशक्तिहरुसँग कसरी डिल गर्ने भन्ने त्यति अनुभव भने छैन। तर, टेक्निकल्ली कसरी म्यानेज गर्ने, कहाँ लगानी गर्ने, कुन क्षेत्रमा बढी केन्द्रित हुने भन्ने व्यावहारिक ज्ञान भने छ। त्यही हिसाबले काम अगाडि बढाइरहेको पनि छु।

बैकिङ क्षेत्रमा पनि कुनै पनि कुराको डिसिजन गर्दा रिसर्च गर्छौं। रिसर्च गर्दा मार्केटमा त्यसको पोजिसन के छ र त्यसको ग्यापलाई परिपूर्ति गर्न केके गर्न सकिन्छ भन्ने कुरा हेरिन्छ। यहाँ आउनुअघि पनि हामीले यो विषयमा अनुसन्धान गरेका थियौं। यहाँ आइसकेपछि पनि थप अध्ययन गरें। त्यसकारण मलाई काम गर्न सहज नै भएको छ।

बैंकिङ क्षेत्रका कर्मचारीको तुलनामा यहाँका कर्मचारीसँग काम गर्न कत्तिको सहज हुने रहेछ?
यहाँ कार्यरत अधिकांश कर्मचारी सहयोगी नै हुनुहुन्छ। डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसँग सिधै जोडिएर काम गरेको यो मेरो पहिलो पटक हो। तर उहाँहरुसँग काम गर्न मलाई सहज नै भइरहेको छ। केही डाक्टर तथा स्वास्थ्यकर्मीले मेरो नाम पहिलेदेखि नै चिन्नुभएको रहेछ। प्राविधिक जनशक्ति भएकाले उहाँहरुको प्राविधिक कुराहरु बुझ्न मलाई समय लागे पनि व्यवस्थापकीय हिसाबमा काम गर्न अप्ठेरो भएको छैन। अस्पतालमा कोही फुल टाइम, कोही पार्ट टाइम र कोही एक दुई घन्टा मात्र काम गर्नेगरी डाक्टरहरुको व्यवस्थापन गरिएको रहेछ। अब हामीले धेरैजसो डाक्टरलाई फुल टाइम नै राख्नेगरी काम अगाडि बढाइरहेका छौं। फुल टाइम डाक्टर राख्न अस्पतालको उपकरण लगायतका अन्य कुराहरु थप गर्दै लगिरहेका छौं।

भनेपछि अस्पतालको सेवा विस्तारको काम अगाडि बढिरहेको छ?
पक्कै पनि। हामीले यो अस्पताललाई ५० बाट एक सय शय्यामा लैजाने गरी काम अगाडि बढाइसकेका छौं। यो अस्पतालको भवन पनि एक सय शय्या चलाउने गरी नै बनाइएको छ। एक सय शय्यामा विस्तार गर्ने प्रक्रिया अगाडि बढेसँगै उपकरण लगायतका सामान किन्ने काम पनि अगाडि बढिसकेको छ। फुल टाइम चिकित्सक तथा स्वास्थ्यकर्मी थपिरहेका छौं। विशेषज्ञ सेवाहरु थप्दै लगिरहेका छौं। हामी अतिविशिष्ट सेवाहरु पनि थप गर्दै अगाडि बढिरहेका छौं।

विशेषगरी केके नयाँ सेवा थप गर्ने योजना छ?
जनरल सर्भिस त चलिरहेको छ। अब हामीले अस्पतालमा टेस्टट्युब बेबी (आइभिएफ) सेवा सञ्चालन गर्न लागिरहेका छौं। यो सेवा थप भएसँगै प्रसूति तथा स्त्रीरोग सेवासँगै बच्चाको सेवा पनि थप विस्तार हुने छ। हाडजोर्नीको उपचारका लागि पनि सेवा विस्तार गरिरहेका छौं। मुटु रोगको उपचारका लागि सेवा थप गरिरहेका छौं। पेट रोगको उपचारका सेवा थप गरिरहेका छौं। न्युरोलोजीतर्फ पनि ठुलो टिम बनाइसकेका छौं। समग्रमा धेरै विभागहरुको विकास र विस्तारमा जोड दिएका छौं। हामीसँग स्वास्थ्य शिक्षा पढाउने दुई वटा शिक्षण संस्था पनि छन्। त्यसमा पनि काम अगाडि बढाइरहेका छौं।

अस्पतालमा आएर काम गर्ने क्रममा केके चुनौतीको सामना गर्नु परिरहेको छ?
चुनौतीभन्दा पनि म अवसरका रुपमा लिन्छु। तर मैले यहाँ आएर त्यस्तो ठूलो चुनौतीको सामाना गर्नुपरेको छैन। टिमवर्कमा काम हुने भएकाले सबैको साथ र सहयोगमा काम अगाडि बढिरहेको छ।

तपाईंहरुले व्यवस्थापन जिम्मा लिएपछि अस्पतालको सेवा प्रवाहमा के परिवर्तन आएको छ?
मुख्य कुरा त बिरामीले सहज रुपमा सेवा पाउनुपर्छ भन्ने नै हो। हामीले पनि त्यसमा जोड दिइरहेका छौं। हामीले लिनुअघि अस्पतालमा दैनिक ५० देखि ८० जना बिरामी ओपिडीमा आउने गर्थे। तर, अहिले यो संख्या बढेर दैनिक २ सय ४० देखि २ सय ६० हुने गरेको छ। बिरामीहरु सेवा प्रवाहमा निकै खुसी छन्। अस्पताल भर्ना हुने बिरामीको संख्या पहिला ३५ प्रतिशत थियो। तर, अहिले सबै बेड फुल हुन्छ। हामीले बिरामीको सन्तुष्टिलाई नै मध्यनजर गर्दै सेवा दिइरहेकाले धेरै परिवर्तन आएको छ। अस्पतालमा सेवा पनि थपिँदै गएको छ, सँगसँगै बिरामीको संख्या पनि थपिइरहेको छ।

अस्पतालको भावी योजना के छ?
पहिलो चरणमा हामी एक सय शय्यामा विस्तार गर्ने कामलाई अगाडि बढाइरहेका छौं। त्यसपछि क्रमशः यसलाई त्योभन्दा बढी क्षमता भएको सुपरस्पेसालिटी अस्पतालका रुपमा विकास गर्ने छौं। अहिले हामी सरकारले तोकेको मापदण्डअनुसार एक सय शय्याका लागि काम गरिरहेका छौं। त्यसपछि बाहिर जग्गा लिएर अस्पताललाई थप विस्तार गर्ने नै योजना छ। तर, यसका लागि ६-७ वर्ष लाग्न सक्छ। स्टार अस्पताललाई हामी सुपरस्पेसियालिटी (बहुविशेषज्ञ) सेवा दिने उत्कृष्ट अस्पताल बनाउने योजनाअनुसार काम गरिरहेका छौं। यसको भविष्य बलियो छ।

(महर्जन ललितपुरको सानेपामा अवस्थित स्टार अस्पतालका अध्यक्ष हुन्  । )


ताजा खबर