सहिद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन

मच्छिन्द्र युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गर्नुभएको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुग्यो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा देवेन्द्र तामाङले गर्नुभएको प्रहार गोलपोष्ट चुम्दा अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्नुहुँदै त्रिभुवन आर्मीलाई बराबरीबाट रोक्नुभयो ।

८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले मैदानको बीच भागबाट एकल प्रयासमा गोलपोष्ट नजिकसम्म डोर्याएपनि मच्छिन्द्रका पिटर सेगुइनले बल खोस्दै अन्तिम प्रहार गर्ने अवसर समेत दिनुभएन ।
इन्ज्युरी समयको पाँच मिनेट समय थपिदा आर्मीले गोलको आक्रामक प्रयासहरु गरेपनि मच्छिन्द्रको रक्षात्मक पद्धतीले आर्मीको चाहना पुरा हुन दिएन ।

अत्यन्तै रोमाञ्चक स्पर्धामा त्रिभुवन आर्मीले गोलको प्रयास गरेपनि सफल हुन सकेन । त्रिभुवन आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए उपाधि उचाल्न सफल हुन्थ्यो । -सफल नेपाल, काठमाडौं 


ताजा खबर