छाला चिलाउने समस्यालाले गम्भिर रुप लिन सक्छ : डा.ऋषभदेव त्रिपाठी

छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी र महत्वपूर्ण अङ्ग हो । यो हाम्रो शरिरमा रहेको एउटा यस्तो पत्र हो जसले शरीरलाई बाहिरी संक्रमण हुनबाट जोगाउँछ । जसले हाम्रो शरीरका सम्पूर्ण अङ्गलाई ढाकेको हुन्छ र भित्री अङ्गलाई सुरक्षा दिने काम पनि गर्छ । मौसमी असर तथा संक्रमण र बिभिन्न रोगका कारणले पनि छालामा समस्या आउन सक्छ।

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलका छाला रोग विशेषज्ञ डा. ऋषभ देव त्रिपाठीका अनुसार छालामा बिशेषगरी  सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख रुपमा देखिन्छन् । उहाँका अनुसार शरीरको भित्री भागमा हुने विभिन्न रोगको लक्षण पनि छालामा देखिने गर्छ ।

प्राय जसो छाला चिलाउने र छाला सम्बन्धि अन्य समस्यालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका हुन्छन् तर छालामा हुने समस्यालाई हेलचेक्राई गरियो भने यसले हाम्रो शरिरमा जटिल समस्या उत्पन्न गराउन सक्छ, भन्नुहुन्छ डा.त्रिपाठी ।

छालामा हुने मुख्य समस्या

सुख्खापन

सुक्खापन धेरैको समस्या हो । छालामा विभिन्न कारणले सुक्खापन हुने गर्दछ । यो शरिरमा भएको कुनै रोग या लामो समयसम्म कडा साबुनको प्रयोगका कारणले हुने समस्या हो । यो समस्या केहीमा वंशाणुगत पनि हुने गर्छ । उमेरले पनि सुक्खापन ल्याउन सक्छ भने उमेर बढ्दै जादा अनुहारमा चाउरी पर्ने, हात र खुट्टा फाट्ने, छाला खुम्चिने समस्या हुन्छ ।

 एलर्जी

छालाको रोगसँग लड्ने क्षमता इम्युनिटी पावरमा गढबढी आएमा एलर्जीको समस्या हुन्छ । लामो समयसम्म हातमा घडी, ब्रासलेट, केमिकलयुक्त रङ्गको प्रयोग गर्दा छालाको माथिल्लो भागमा असर पार्छ र एलर्जी गराउँछ ।

बिभिन्न ब्याक्टेरिया भाइरसको संक्रमण

छालामा भाइरस, ब्याक्टेरिया र ढुसीका कारण संक्रमण हुने गर्छ । यसैगरी लुतो पनि संक्रमणको कारण हुनसक्छ । यो सँगै घरपालुवा कुकुर र बिरालोबाट पनि संक्रमण हुन्छ । कुकुर र बिरालोको कुनै–कुनै किटाणु मानिसमा सर्न सक्छ त्यसैगरी कुकुर बिरालोमा हुने रौ र चाया मानिसको छालामा आएमा छालामा संक्रमण फैलिन्छ । छालाका रोगी मानिससँगको उठबसले पनि यो रोग सार्ने हुन्छ ।

छालाको रोगका कारण हुने समस्या

लाइकन प्लानस
लाइकन प्लानस भएमा कपाल चिलाउने, नङ, कुहिनोमा समस्या देखिने ,शरिरमा निलो डाम देखिने हुन्छ । छालाको इम्यूनिटी पावर छालाको कोषसंग जुध्न पुगेमा छालामा समस्या हुन्छ । मेडिकलको भाषामा यसलाई अटो इम्यूनो डिजिज पनि भन्ने गरिन्छ । कतिपय अबस्थामा हात खुट्टा बाउडिने पनि हुने गर्छ । यो रोग बिषेश गरेर २० देखि ३० बर्षको उमेर समूह या त ४० देखि ५० बर्ष सम्मको उमेर समूहमा देखिन्छ ।

सोरियासिस कत्ले रोग
सोरियासिस पनि एक प्रकारको अटो इम्युनो डिजिज नै हो । यो समस्या धेरै मोटो मानिसमा देखिन्छ । यो धेरैमा हुने समस्या हो । छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला निस्किने हुन्छ । कत्ला निस्किने भएकाले नै यसलाई नेपालीमा कत्ले रोग पनि भन्ने गरिन्छ । विशेष गरी शरिरको जिनमा गडबढी भएमा यो समस्या हुन्छ । मोटोपन भएका, सुगर र थाइराइड सम्बन्धी समस्या भएकाहरुमा यो समस्या बढी नै देखिन्छ ।

सुख्खापन
पर्याप्त मात्रामा पानि नपिउँदा पनि छालामा समस्या देखिन्छ । कम पानि पिउने, धेरैबेर घाममा बस्ने गर्नाले छालामा सुक्खापन ल्याउँछ ।

पिग्मेन्टेसन डिस्अर्डर
शरीरमा सेतो दुवी वा पोतो आउनुलाई पिग्मेन्टेसन डिस्अडर भनिन्छ । यस्तो समस्या भएकाहरुमा छालाको रङ्गमा फरक आउँछ । कसैमा कालो दाग बस्छ भने कसैमा सेता धब्बा छालामा देखिन्छ । महिलाहरुमा यो समस्या बढि देखिने गरेको पाइन्छ । कतिपय अवस्थामा कम मात्रामा दुबी र बढि मात्रामा चाया देखिने गर्छ । हार्मोनको कारणले कतिपयमा चाया पोतो आउने गर्छ त कतिपय अवस्थामा महिलाले प्रयोग गर्ने पिल्सको साइड इफेक्टको कारणले पनि चाया, पोतो दुबी जस्ता समस्या देखिन्छ ।

क्यान्सर
क्यान्सर छालामा हुने जटिल समस्या हो । यो दुइ किसिमको हुन्छ । बेसल सेल क्यारिनोमा बिसीसी र स्क्वामस सेल क्यारिनोमा एसीसी यी दुवै समस्या घामका कारणले गर्दा हुने गर्छन । अल्ट्राभायोलेट किरणको असरबाट बीसीसी र एससिसी क्यान्सर हुन सक्छ ।

मेलानोमल क्यान्सर

छालामा कालो दाग देखिनु मेलानोमल क्यान्सरको संकेत हो भन्ने बुझ्नुपर्ने हुन्छ । यो क्यान्सर अल्ट्राभायोलेटबाट हुने क्यान्सर भन्दा बढी खतराजनक हुने गर्दछ । यो क्यान्सर शरिरका जुनसुकै अंगमा पनि फैलिन सक्छ । छालामा हुने कोठीको साइज, आकार रङ्ग परिवर्तन भएमा मेलानोमल क्यान्सर हुने सम्भावना बढी हुन्छ । सबै प्रकारका अन्य क्यान्सरका कोषहरु छालामा आएर बस्न सक्ने भएकाले छालामा सबैप्रकारका क्यान्सरको उच्च जोखिम हुने गर्दछ ।

छालाको समस्याबाट बच्‍ने उपाय

मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।

तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने

कडाखालको साबुनको प्रयोग कम गर्ने

ऊनीको कपडाको प्रयोग नगर्ने

हिटर र एसीको लामो समय सम्म प्रयोग नगर्ने

पर्याप्त मात्रामा पानी पिउने

पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने

घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।

(डा. त्रिपाठी काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका चर्मरोग बिशेषज्ञ हुन् ।)


ताजा खबर