सहमतिका साथ अगाडि बढ्न काङ्ग्रेस नेताहरु सहमत

नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले पार्टीको आन्तरिक विषयमा सहमतिका साथ अगाडि बढ्ने सहमती गरेको छ ।
अघिल्लो महिना केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बहुमतबाट सार्वजनिक गरेपछि बढेको मतान्तर लामो समयको द्विपक्षीय संवादपछि बुधबार बसेको शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानील कण्ठमा बुधबार बिहान ९ देखि अपरान्ह ४ बजेसम्म बसेको बैठकले सबै विषयमा सहमतिका साथ अगाडि बढ्ने सहमति भएको जानकारी पूर्व उपसभापति प्रकाशमान सिंहले दिनुभयो ।
नेता सिंहले भ्रातृ सङ्गठन, महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने, क्रियाशील सदस्यता वितरण विषयमा छानबिन समिति गठन गर्ने, भ्रातृ संगठनलाई क्रियाशील बनाउनेलगायतका विषयमा अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी २०७७ फागुन ७ देखि गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । सहमति अनुसार, गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेशस्तरका अधिवेशनको कार्यतालिकामा सहमतिका परिमार्जन गरिने छ ।
नेपाल विद्यार्थी संघको गठन गर्ने जिम्मेवारी सभापति देउवालाई यसअघि दिइएकोमा अब सहमतिमै केन्द्रीय तदर्थ समिति गठन हुने छ । त्यस्तै, विभिन्न जिल्लामा पार्टीको समायोजनको प्रक्रियालाई पनि सहमतिमै टुङ्ग्याइने छ ।

बूढानीलकण्ठको शुक्रबारको बैठकमा सहमति जुटाउने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने जानकारी दिनुभयो ।

-सफल नेपाल,काठमाडौ


ताजा खबर