पुँजीगततर्फ बिनियोजित बजेटको ८०.१ प्रतिशत खर्च हुने अनुमान : अर्थमन्त्री डा. युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले चालुतर्फ बिनियोजित बजेटको ९४.५ प्रतिशत र पुँजीगततर्फ बिनियोजित बजेटको ८०.१ प्रतिशत खर्च हुने अनुमान गरिएको बताउनुभएको छ ।

चालु आर्थिक वर्ष २०७६।७७ को बजेटको अर्धवार्षिक समीक्षा सम्बन्धी पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले पुँजीगततर्फको बजेट शतप्रतिशत खर्च हुने अवस्था नरहेपनि बिगतका बर्षहरुभन्दा बढी हुने र अबका दिनमा पुँजीगततर्फको बजेट खर्चले तिब्रता लिने बताउनुभयो ।

उहाँले बजेटको पूर्ण कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको र करको लक्ष्य हासिल गर्न केही नयां क्षेत्रलाई पनि करको दायरामा ल्याउन र कर कार्यालयहरुको बिस्तारलाई जोड दिईएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले चालु आर्थिक बर्षको बजेटको आकार आकार १० प्रतिशततले घटाईएको जसअनुसार बजेटको आकार १३ खर्ब ८५ अर्ब कायम भएको जानकारी गराउनुभयो ।

सरकारले चालु वर्षकालागि रु. १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिईने उल्ल्ेख गर्दै बजेटको आकार घटाए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने यथावत राखिएको बताउनुभयो ।

उहाँले राजश्वको लक्ष्य पनि संशोधन गरिएको र बजेटमा अनुमान गरिएकोमध्ये ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु.९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा संशोधनपछि रु.८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलनको लक्ष्य रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजना र उच्च प्राथमिकता प्राप्त आयोजनाहरूमा थप माग भएमा तत्काल सम्बोधन गरिने पनि पत्रकार सममेलनमा जानकारी दिनुभयो ।

सडक, सिँचाइ, खानेपानीका आयोजनाहरूमा प्रगतिको आधारमा थप रकम व्यवस्थापन गरिने हुनाले पुँजीगत खर्च संशोधित अनुमान अनुसार हुने पनि अर्थमन्त्री डा. खतिवडाले दावी गर्नुभयो ।

अर्थमन्त्री डा.खतिवडाले पछिल्लो समय आयातको परिमाणमा सुधार हुँदै गएको, समष्टिगत आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको, आर्थिक क्रियाकलापमा बढोत्तरी भएको, करको दायरा विस्तार हुँदै गएको, राजस्व चुहावटमा नियन्त्रण हुँदै गएकोले आगामी छ महिनामा कर राजस्वको संशोधित अनुमान हासिल हुने बताउनुभयो ।


ताजा खबर