एकदिवसिय क्रिकेटमा नेपालले बनायो नयाँ रेकर्ड : अमेरिकामाथि आठ विकेटको जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत घरेलु मैदानको आफ्नो अन्तिम खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पार्यो । जितसँगै नेपालले सात टोली सम्मिलित लिग डिभिजन दुईमा छैठौं स्थानमा उक्लेको छ । घरेलु मैदानमा सशक्त प्रतिद्वन्द्वी ओमानसँगको हारले नेपाली टोलीको सशक्त विधा बलिङसँगै ब्याटिङ समेत उदागिंयो । ओमान विरुद्धको दोस्रो खेलमा ब्याटिङ चल्दा बलिङ आक्रमण समेत फितलो देखियो । ओमान विरुद्धको दुबै खेलमा जित हात पारेको भए नेपाललाई चौथो स्थानमा उक्लिने सम्भावना रहन्थ्यो तर सकेन । तर पनि नेपालले घरेलु मैदानको प्रतियोगितामा सन्तोषजनक अन्त्य गरेको छ ।

ओमान आफ्नो दश खेलमध्ये आठवटा खेल जितेर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको १६ अङ्क पुगेको छ । नेपाल आउनुअघि ऊ आठ खेलमध्ये चारमा जित हात पारेर शिर्ष स्थानको अमेरिका, स्कटल्याण्ड, नामिबियापछि चौथो स्थानमा रहेको थियो । उसले नेपाली क्रिकेट मैदानको खेललाई अवसरको रुपमा सदुपयोग गर्दै त्रिदेशीय श्रृखंलाको चारै खेल जितेर शीर्ष स्थानमा उक्लियो । नेपाली क्रिकेट रङ्गशालामा भने अमेरिकी क्रिकेट टोली चल्न सकेन । प्रतियोगिता सुरु हुनुअघि अमेरिका आठमध्ये छ खेलमा जित हात पारेर तालिकाको शीर्ष स्थानमा थियो । तर उसले ओमान र नेपालविरुद्धको चारवटै खेल हारेर १२ खेलबाट १२ अङ्कसहित दोस्रो स्थानमा झर्न पुग्यो । स्कटल्याण्ड आठ खेलमध्ये चारमा जित हात पारेर नौ अङ्कसहित तेस्रो स्थानमा छ । नामीबिया भने सात खेलबाट आठ अङ्क बटुलेको छ । यूएई भने सात खेलबाट तीनमा जित हात पार्दै सात अङ्क बटुलेको छ ।

पपुवान्यूगिनी भने आठ खेलमध्ये आठैमा हार ब्यहोरेको छ । ऊ सातौं स्थानमा छ ।

करण, सन्दीप, सुशन र कुशलको श्रृखंला
प्रतियोगितामा नेपालको सन्तोषजनक प्रदर्शन रह्यो । ओमान विरुद्धको दुबै खेलबाट नेपालले बलिङ र ब्याटिङ दुबैमा सुधारको सिको पाउने अवसर पाएको छ । तर खेलाडीको ब्यक्तिगत् प्रदर्शनको आधारमा नेपालले अन्तर्राष्ट्रिय स्पर्धाका लागि कुशल मल्लको रुपमा नयाँ ब्याटिङ अलराउण्डर पाएको छ । अमेरिका विरुद्धको खेलमा उहाँको अर्धशतकीय पारीले विश्व कीर्तिमान बनायो । उहाँ आफ्नो अन्तर्राष्ट्रिय एकदिवसीयको ‘डेब्यु’ खेलमै अद्र्धशतक लगाउने विश्वकै सबैभन्दा कान्छो खेलाडी बन्नुभएको छ । मल्लले तीन खेलमध्ये दुईटामा ब्याटिङ्ग गर्ने अवसर पाउनुभयो । ओमान विरुद्ध २८ रन तथा एक विकेट र अमेरिका विरुद्ध उहाँले अर्धशतकीय पारीसँगै एक विकेट लिनुभयो ।

विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीको प्रदर्शन समेत अपेक्षाकृत सुधारिएको छ ।

प्रतियोगितामा करण केसीको प्रदर्शन समेत उत्कृष्ट रह्यो । करणले ओमान र अमेरिका दुबै टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभयो । ओमान विरुद्धको पहिलो खेलमा चार विकेट लिनुभएका करणले अमेरिका विरुद्धको खेलमा समेत चार विकेट लिएर प्रतियोगिताको चार खेलबाट आठ विकेट लिनुभयो ।

प्रमुख बलर सन्दीप लामिछाने ओमान विरुद्धको दुबै खेलमा चल्न नसक्नु पनि नेपालको फितलो प्रदर्शनको कारण बन्यो । अनुभवी ओमानका खेलाडी समक्ष सन्दीप आफ्नो दुबै पारीमा विकेटविहीन बन्न पुग्नुभयो । पहिलो खेलमा औसत प्रदर्शन गरेपनि सन्दीपले विकेट लिन सक्नुभएन । दोस्रो खेलमा नेपालले उच्च योगफल बनाएपनि प्रमुख बलर सन्दीप र करण दुबैजना चल्न नसक्दा नेपालले योगफलको रक्षा गर्न सकेनन । अमेरिका विरुद्धको दुबै खेलमा सन्दीपको प्रदर्शनले उहाँको आत्मबल थप बढाएको हुनुपर्छ । अमेरिकासँगको पहिलो खेलमा उहाँले दुई विकेट लिनुभएको थियो ।

घरेलु मैदानमा अन्तर्राष्ट्रिय एकदिवसीय ‘डेब्यु’ गर्ने अर्का खेलाडी सुशन भारी पनि चर्चा बटुल्न सफल हुनुभयो । सुशनले चार खेलमा ११ विकेट लिनुभयो । ओमान विरुद्धको पहिलो खेलमै तीन विकेट लिएका सुशनले दोस्रो खेलमा अमेरिका विरुद्ध तीन विकेट लिनुभयो । ओमानसँगको आफ्नो तेस्रो खेलमा मात्र एक विकेट लिनुभएका सुशनले अमेरिका विरुद्धको चौथो खेलमा पुनरागमन गर्नुहुँदै चार विकेट लिएर प्रतियोगिताकै सबैभन्दा सफल बलर बन्नुभयो । चारैजना खेलाडी युवा हुन ।

कीर्तिमानको चाङ
त्रिदेशीय श्रृखंलामा कुशल मल्लले अद्र्धशतकीय पारी खेलेर विश्व कीर्तिमान बनाउनुभयो । ओमान विरुद्धको दोस्रो खेलमा सन्तोषजनक ब्याटिङ गरेको नेपालले अमेरिका विरुद्धको दोस्रो खेल भने ऐतिहासिक नै बनायो । अमेरिकालाई अहिलेसम्मकै सबैभन्दा कम योगफलमा समेटेर नेपालले उक्त कीर्तिमान बनायो । श्रीलङ्काले जिम्बाबवेलाई सन् २००४ मा ३५ रनमा समेटेर अहिलेसम्मकै सबैभन्दा कम योगफलमा समेट्ने कीर्तिमान बनाएको थियो । नेपाली बलरले अमेरिकालाई जिम्बाबवेसँगको कीर्तिमान बराबरी गर्न बाध्य बनायो ।

नेपालले उक्त ३६ रनको लक्ष्य २६८ बल बाँकी छँदै पुरा गरेर अर्को कीर्तिमान बनायो । जुन चौथो सबैभन्दा बढी बल बाँकी छँदै फराकिलो अन्तरले लक्ष्य पूरा गर्ने कीर्तिमान हो । यसअघिको तीनवटै कीर्तिमान टेष्ट खेल्ने राष्ट्रको नाममा रहेको छ । श्रीलङ्काले क्यानाडा र जिम्बाबवेलाई २७२ र २७४ बल बाँकी छँदै हराएको थियो । दुबै कीर्तिमान सन् २००१ र २००३ मा बनेको हो । त्यसअघि इंग्ल्याण्डले क्यानाडालाई सन् १९७९ मा २७७ बल बाँकी छँदै फराकिलो बलको अन्तरले हराएको थियो ।
उक्त कीर्तिमान बाहेक सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय एकदिवसीय जीवनको सबैभन्दा सफल बलिङ् गर्नुभयो । मात्र छ ओभरमा १६ रन खर्चेर छ महत्वपूर्ण विकेट लिनुभएका सन्दीपले हालसम्म दश अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्नुभएको छ ।नेपालले लिग डिभिजन दुई अन्र्तगत्को आफ्नो दोस्रो श्रृखंला २० देखि २७ अप्रिलसम्म खेल्नेछन् । नामीबिया र स्कटल्याण्ड सम्मिलित उक्त श्रृखंला नामीबियामा हुनेछ ।


ताजा खबर