संसद‍्‍मा अवरोध नगर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार बस्‍ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

‘बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छाया बन्यो भन्ने कांग्रेसको ठहर हो । यस विरुद्धको मुद्दा कांग्रेस कानुनी र राजनीतिक रुपमा लड्छ,’ खाँणले भने, ‘अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे कांग्रेस सांसदहरुले सदनमा कुरा उठाउनु हुन्छ। आज बोलाइएको सदन चल्न दिन्छौं।’

अख्तियारले पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले सदन अवरोध गर्दै आएको थियो। कांग्रेसले बिहीबार, शुक्रबार र आइतबार बसेको संसद् बैठकमा अवरोध गरेको थियो।

अख्तियारले गत बुधबार ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अलालतमा मुद्दा दायर गरेको थियो।उक्तप्रकरणमा निर्णय लिने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणि पौडेल (अहिले चीनका लागि नेपाली राजदूत) लाई जोगाएर सिफारिस गर्ने मन्त्रीका हैसियतमा गच्छदारलाई मात्रै फसाइएको आरोप कांग्रेसको छ।

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको छ। -रासस

ताजा खबर