कालीमाटीमा भित्रिएको हरियो तरकारीमा विषादी बढ्यो : घिउसिमी काउलीमा बढी भेटियो

देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ । आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६-७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।

सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ-दस दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनुसार आव २०७५-७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४-७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।

यस्तै आव २०७३-७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२-७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१-७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।

घिउसिमी र काउलीमा बढी
एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले पछिल्लो सात महिनामा परीक्षण गरेका तरकारीका नमुना घिउसिमीमै पटकपटक खान नहुने विषादीको प्रयोग भएको पाइएको जानकारी दिनुभयो । उहाँले यस वर्ष परीक्षण गरिएका तरकारीका नमुनामा खान नहुने विषादी प्रयोग हुनेमा सबैभन्दा बढी (चारवटा) सिमी र दुईवटा काउलीका नमुनामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार अधिक विषादी भेटिएका सिमीका नमुनामध्ये एउटा भारतबाट आएको र तीनवटा झापा, काभ्रे र सल्र्लाहीमा उत्पादन भएका थिए । यस्तै काउली धादिङ र बारामा उत्पादन भएका थिए ।

यस्तै, खाना नहुने विषादी प्रयोग भएका भारतबाट आएको एउटा केरा, सिन्धुपाल्चोकको गोलभेँडामा पनि खान नहुने विषादी प्रयोग भएको पाइएको सो एकाइले जनाएको छ । अघिल्ला वर्षमा गोलभेँडामा बढी विषादी भेटिने गरेकोमा यस वर्ष खान नमिल्ने र पर्खेर खानुपर्ने दुवैमा घिउसिमी बढी भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा माथि भएमा त्यसलाई खान हुँदैन तुरुन्त नष्ट गर्नुपर्छ भने विषादीको रोकावट दर ३५ भन्दा माथि र ४५ भन्दा कम छ भने त्यसलाई आठ÷दस दिन पर्खेर मात्र खान सकिन्छ । यस्तै विषादीको रोकावट दर ३५ सम्म छ भने उपभोग गर्न सकिन्छ ।

बाली संरक्षण अधिकृत घिमिरेले कालीमाटीमा प्रयोगशाला स्थापना भएसँगै क्रमशः तरकारीमा प्रयोग गरिने विषादीमा सुधार देखिएको भए पनि यस वर्ष नपत्याउने गरी बढेको तथ्यले नै प्रमाणित गरेको बताउनुभयो । उहाँको अनुभवमा कुनै बेला तरकारीको नमुना लिएकामध्ये ९० प्रतिशतसम्म विषादी भेटिने गरेकोमा अहिले त्यो अवस्था छैन तर यस वर्ष विषादीको प्रयोग नपत्याउने गरी बढेको छ ।

कार्यविधि कार्यान्वयनमा
सरकारले विषादी बढी प्रयोग गरिएका तरकारी नष्ट गर्न ‘विषादी अवशेष विश्लेषण परीक्षण कार्यविधि २०१७’ जारी गरी कार्यान्वयनमा पनि ल्याइएको छ । कार्यविधि अनुसार कालीमाटी बजारमा भित्रिएका तरकारीको विषादी परीक्षण गर्न थालेपछि त्यहाँ भित्रिने तरकारीका मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा क्रमशः घटेको थियो । यो वर्ष पुनः बढेको घिमिरेको भनाइ छ । हाल विषादी अवशेष द्रुत विश्लेषण एकाइ काठमाडौँसहित पोखरा, बुटवल र बिर्तामोड, नेपालगञ्ज, सर्लाही र धनगढीमा सञ्चालनमा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्दका अनुसार पछिल्लो समयमा पछिल्लो समयमा तरकारीमा कडा विषादी प्रयोग बढेको छ ।

अनुसार चालू आवको मङ्सिरसम्म १७० वटा विषादी पञ्जीकृत छन्, जसमा सबैभन्दा धेरै कीटनाशक ६० वटा, ढुसीनाशक ४२, झारनाशक ३० वटा, जैविक १४, वनस्पतिजन्य १३ र अन्य नौवटा छन् । केन्द्रले रासायनिक विषादीको प्रयोगलाई विस्तारै कम गर्ने र जैविक तथा वनस्पतिजन्य विषादीलाई प्रवद्र्धन गर्नेगरी काम गर्दै आएको दाबी गरेको छ ।

धेरै गुनासो आएपछि २०७१ असार ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले कालीमाटी बजारमा उक्त एकाइ स्थापना गर्नुभएको हो । यस एकाइले त्यसयता निरन्तर कालीमाटीमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दै आएको छ । त्यस वर्षको असार महिनामा मात्रै १८७ वटा तरकारीका नमुना परीक्षण गरिएकोमा २६ वटा खान नहुने, छवटा पखिर्नुपर्ने र १५५ वटा खान नहुने पाइएको थियो । कालीमाटीमा भित्रिने तरकारीको छड्के रूपमा विषादीको अवस्था परीक्षण हुन थालेपछि विगतका वर्षमा क्रमशः घटेको भए पनि यो वर्ष भने नपत्याउने तरिकाले बढेको बताउनुभयो ।  –सफल नेपाल


ताजा खबर