आईसीसी विश्वकप क्रिकेट लिग टु मा आज नेपाल र ओमान भिड्ने : नेपाललाई बदलाको मौका

आईसीसी विश्वकप क्रिकेट लिग–२ को  तेस्रो खेलमा आज नेपाल ओमानसंग भिड्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे बाट सुरु हुनेछ ।

विश्वकप छनोट प्रारम्भिक विन्दु मानिएको प्रतियोगितामा नेपाल पहिलो खेलमा तीन दिन अघि ओमानसंग १८ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपाल यसअघिको हारको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रन रेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ ।

नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन ।

हालसम्म नेपाल र ओमान एक दिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ ।

सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।

७ राष्ट्र सम्मिलित लिग अन्तर्गत हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सहभागिता जनाउने अवसर पाउने छन् । –सफल नेपाल, काठमाडौं 


ताजा खबर