शिक्षण अस्पतालमा चौथौ पटक कलेजोको सफल प्रत्यारोपण : २७ वर्षीया छाेरीले दिइन् बाबुलाई कलेजाे

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चौथोपटक कलेजो प्रत्यारोपण गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिनुभयो ।

झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर रहेको उहाँले जानकारी दिनुभयो । डाक्टर भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रि.वि. शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो ।

यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

परिवारभित्रको र नजिकको नातेदारले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।

कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपण हुन थालेपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनुभयो ।

यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । यस्तै, चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । –सफल नेपाल, काठमाडौं


ताजा खबर