नेपाली काँग्रेसद्वारा संसद अवरुद्ध

प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

ललिता निवासको जग्गा प्रकरणमा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका कारण मुद्दा चलाइएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले आज पनि सदन अवरुद्ध गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक शुरु हुने वित्तिकै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले सभामुखसँग समय लिएर अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आफ्नो पार्टीका नेता गच्छदारलाई राजनीतिक पुर्वाग्रहका आधारमा मुद्धा लगाएको बताउनुभयो ।

सांसद विश्वकर्माले भनाई राखे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गर्नु भएको थियो ।

काँग्रेसका सांसदहरु उभिएर विरोध जनाउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा हिजोको बैठकमार्फत नै सम्बन्धित निकायकासम्म सन्देश पुगिसकेको र अब यो विषय संसदको क्षेत्राधिकारभित्र नपर्ने भन्नुुहुँदै सदन सुचारु गर्न सहयोगका लागि पटक पटक आग्रह गर्नु भएको थियो ।

सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो ।

त्यसपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।  –रासस


ताजा खबर