नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवसको अवसर पारेर समाजले दुई साहित्यकारलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा अभि सुवेदीले छन्दकवि प्रह्लाद पोखरेललाई ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ प्रदान गर्नुभयो । पोखरेललाई सम्मानका साथ नगद राशि २१ हजार १११ रुपियाँसमेत प्रदान गरिएको थियो ।
प्रमुख अतिथि डा. सुवेदीले युवा साहित्यकार अनिता पन्थीलाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ प्रदान गर्नुभयो । उहाँलाई सम्मानका साथ नगद राशि १५ हजार एक सय रुपियाँसमेत प्रदान गरिएको थियो । सो कार्यक्रममा कथाकार जीवनाथ पोखरेलको कथाकृति ‘फेसबुकको करामत’ र कवि अम्बु बिहानीको मुक्तककृति ‘अतृप्त रहरहरू’ पनि सार्वजनिक गरियो ।
कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ सहित संरक्षक पवन आलोक, कवि पोखरेल, पन्थी, सम्मानका संस्थापकहरू विधान आचार्य, डा. चेतनाथ कँडेल, तारा सुवेदीलगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
























